“मेस्सी छुट्टी मनाउन पिएसजी आएका होइनन्”

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का डिफेन्डर मार्किन्होसले लियोनेल मेस्सी छुट्टी मनाउनको लागि फ्रान्स नआएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा ब्राजिलियन डिफेन्डरले मेस्सी छुट्टि मनाउन र रमाइलो गर्न फ्रान्स नआएको बताएका हुन्।

फ्रान्सेली टेलिभिजन कार्यक्रम टेलिफुटमा कुराकानी गर्दै मार्किन्होसले मेस्सी जस्तो खेलाडी केहि न केहि योजना लिएरै पिएसजी आएको बताए। मेस्सीले पिएसजीमा केहि न केहि देखेको मार्किन्होसको भनाई छ।

पिएसजीले आफ्नो करियरमा उपाधि थप्ने देखेरै मेस्सी फ्रान्स आएको मार्किन्होसले बताए। उनले भने,”लियोनेल मेस्सीले छुट्टी मनाउन पिएसजी आएका होइनन्। आफ्नो करियरमा केहि उपाधि थपिने अवस्था देखेर नै उनी यहाँ आएका हुन्।”

लियोनेल मेस्सी यहि सिजन क्याटलान क्लब बार्सिलोनाबाट पिएसजी आएका हुन्। बार्सिलोनामा रहन नमिल्ने भएपछि मेस्सीले गत अगस्त १० मा पिएसजीसँग सझौता गरेका थिए। पिएसजी लामो समय देखि च्याम्पियन्स लिग जित्ने अभियानमा रहेको देखेर नै मेस्सीले पिएसजी रोजेका हुन्।

पिएसजी आएयता मेस्सीले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न भने सकिरहेका छैनन्। मेस्सीले फ्रेन्च लिगमा धेरै नै कम्जोर प्रदर्शन गरिरहेको भएपनि च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरेका छन्। मेस्सीले च्याम्पियन्स लिग समूहचरणका खेलमा ५ गोल गरेका थिए।

मेस्सी, नेयमार र एम्बाप्पेको ट्रियोले च्याम्पियन्स लिग दिलाउने आशा

हालको अवस्थामा पिएसजीसँग विश्वकै उत्कृष्ट ट्रियो छ। मेस्सी, नेयमार र किलियन एम्बाप्पे विश्वकै उत्कृष्ट फरवार्डमा पर्छन्। र यो ट्रियोले च्याम्पियन्स लिग दिलाउने पिएसजीको विश्वास छ। तर यी तीन खेलाडी बीच राम्रो तालमेल भने मिलिसकेको छैन। तालमेल मिल्दै गएको खण्डमा पिएसजीलाई च्याम्पियन्स लिग जित्नबाट कसैले रोक्न नसक्ने धेरैको बुझाई छ।

प्रकाशित : आइतबार, माघ ०९, २०७८२०:३३

रामोसले गरे पिएसजीका लागि पहिलो गोल, पिएसजीको सानदार जित !