एजेन्सी – रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले फुटबल बारे ज्ञान नहुनेले मात्रै मेस्सीको आलोचना गर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बेन्जेमाले फुटबल नबुझ्नेले मात्रै मेस्सीको आलोचना गर्ने बताएका हुन्।
टेलिफुटलाई अन्तर्वार्ता दिनेक्रममा बेन्जेमाले गोल नगर्दैमा मेस्सीको आलोचना गर्न नमिल्ने बताए। गोल नगरेपनि मेस्सीले मैदानमा के गरिरहेका छन् भन्ने कुरा ध्यान दिएर हेर्न बेन्जेमेको सुझाव छ।
“कुनै पनि अवस्थामा मेस्सी जस्तो खेलाडीलाई आलोचना गर्न मिल्दैन। फुटबल बारे केहि थाहा नहुनेले मात्रै मेस्सीको आलोचना गर्छ।”,टेलिफुटसँग कुराकानी गर्नेक्रममा बेन्जेमाले भने।
मेस्सी पिएसजीमा सफल हुनेमा कुनै सन्देह नरहेको पनि बेन्जेमाले बताए। पिएसजीको टीममा पूर्णरुपमा घुलमिल लिन केहि समय लागिरहेको देखिएपनि मेस्सीले मैदानमा के गरिरहेका छन् भन्ने कुरा भुल्न नहुने बेन्जेमाको बुझाई छ। उनले भने,”यो केवल अनुकूलनको अवधि हो किनभने उनले धेरै गोल गर्न सकिरहेका छैनन्। तर उनले मैदानमा के गरिरहेका छन् हेर्नुपर्छ।”
पिएसजीमा मेस्सीको प्रदर्शन
यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले त्यहाँ अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। फ्रेन्च लिग वानमा १२ खेल खेल्दा मेस्सीले मात्रै १ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा भने मेस्सीको प्रदर्शन सन्तोषजनक छ।
मेस्सीले च्याम्पियन्स लिगक ५ खेलमा पाँचै गोल गरेका छन्। पिएसजी गएपछि मेस्सी पहिला जस्तो नरहेको भन्दै आलोचना हुने गरेको छ। यहि प्रकारका आलोचनाहरुलाई लक्षित गर्दै बेन्जेमाको तर्फबाट यस्तो अभिव्यक्ति आएको हो।

