एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले पूर्व सहकर्मी आन्द्रे इनिएस्टालाई बार्सिलोना फिर्ता ल्याउने तयारी गरेका छन्। जाभीले इनिएस्टालाई खेलाडी भन्दा पनि फरक भूमिकाका लागि बार्सिलोना ल्याउने तयारी गरेका हुन्।
जाभीले इनिएस्टालाई बार्सिलोनामा प्रशासकीय जिम्मेवारीका लागि ल्याउन चाहेको विभिन्न स्पेनिस मिडियाहरुले जनाएका छन्। चर्चामा आएअनुसार जाभी इनिएस्टालाई बार्सिलोनाको ‘खेल व्यवस्थापक’को जिम्मेवारीमा देख्न चाहन्छन्। त्यसको लागि जाभीले बार्सिलोनाको उच्च तहसँग कुराकानी गरिसकेको बताइन्छ।
हालको अवस्थामा इनिएस्टा जापानमा फुटबल खेलिरहेका छन्। त्यहाँ उनी भिसेल कोबेमा छन्। इनिएस्टा सन् २०१८ मा त्यहाँ पुगेका हुन्। गत वर्ष मात्रै उनले थप दुई सिजनका लागि सम्झौता थप गरेका थिए।
जापान जानु अगाडी इनिएस्टाले बार्सिलोनाका लागि खेलेका थिए। इनिएस्टा बार्सिलोनाको एकेडेमी लामासियाका उत्पादन हुन्। बार्सिलोनामा जाभी र इनिएस्टाले सँगै फुटबल खेलेका थिए।
बार्सिलोनाको पुनः निर्माणको अभियानमा जाभी
रोनाल्ड कोम्यानको स्थानमा आएका जाभी अहिले धर्मराएको बार्सिलोनाको पुनः निर्माणमा जुटिरहेका छन्। त्यसका लागि उनले विभिन्न रणनीति बनाएका छन्। सोहि रणनीति अन्तर्गत उनले इनिएस्टालाई फिर्ता ल्याउन चाहेको बुझिएको छ।
जाभीले इनिएस्टालाई फिर्ता ल्याउनको लागि क्लबका अध्यक्ष जोआन लपोर्टालाई आग्रह समेत गरिसकेका छन्। यति सबै ठीक गएको खण्डमा इनिएस्टा पूर्व टोली साथी कार्लेस पुयोलसँगै ‘खेल व्यवस्थापन’ भूमिकामा सामेल हुनेछन्।

