एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी)का पूर्व विंगर जेरोम रोथेनले करिम बेन्जेमाको आलोचना गरेका छन्। पिएसजीका स्टार फुटबलर लियोनेल मेस्सीको बचाउ गरेकोमा रोथेनले बेन्जेमाको आलोचना गरेका हुन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोथेनले मेस्सीको विषयमा बेन्जेमाले हचुवामा बोलेको बताए। रोथेनका अनुसार बेन्जेमाले मेस्सीको खेल देखेको भए बचाउ नै गर्दैनथे।
केहि दिन अगाडी बेन्जेमाले एक अन्तर्वार्ताका क्रममा फुटबल नबुझ्नेले मात्रै मेस्सीको आलोचना गर्ने बताएका थिए। उनले भनेका थिए,”कुनै पनि अवस्थामा मेस्सी जस्तो खेलाडीलाई आलोचना गर्न मिल्दैन। फुटबल बारे केहि थाहा नहुनेले मात्रै मेस्सीको आलोचना गर्छ।”
बेन्जेमाले मेस्सीको विषयमा यस्तो बताएको प्रति रोथेनले खुलेरै असन्तुष्टि व्यक्त गरे। मेस्सीको अहिलेको खेल प्रदर्शन देखेको भए बेन्जेमाले त्यतो भन्दैनथे भन्ने रोथेनको बुझाई छ।
उनले भने,”बेन्जेमाले यस्तो कुरा गर्छन् भने उनले मेस्सीको पछिल्लो प्रदर्शन देखेकै छैनन्। मेस्सीको खेल देखेको भए उनले थोरै भए पनि आलोचना गर्थे। पिएसजीका मेस्सीले पहिला जस्तो छैनन्। त्यसैले मेस्सीको प्रदर्शनलाई लिएर रचनात्मक आलोचना भइरहेको हो। आलोचनालाई जहिले पनि नकारात्मक रुपमा हेर्नु हुँदैन।”
मेस्सीको विषयमा बेन्जेमाले अलि बढी नै बोलेको रोथेन बताउँछन्। फुटबल करियरको अन्त्यतिर बेन्जेमा सल्लाहकार बन्न खोजेको रोथेनले बताए।
पिएसजीमा मेस्सीको प्रदर्शन
यसै सिजन बार्सिलोनाबाट पिएसजी पुगेका मेस्सीले त्यहाँ अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। फ्रेन्च लिग वानमा १२ खेल खेल्दा मेस्सीले मात्रै १ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा भने मेस्सीको प्रदर्शन सन्तोषजनक छ। मेस्सीले च्याम्पियन्स लिगक ५ खेलमा पाँचै गोल गरेका छन्। पिएसजी गएपछि मेस्सी पहिला जस्तो नरहेको भन्दै आलोचना हुने गरेको छ।

