जो हवाइजहाज देख्दा बितेका बाआमालाई घर पठाइदे है चिलगाडी भन्दै कराउँछन् …

दैलेख । दैलेख ठाटिकाँध गाउँपालिका–१ सिराडीका विनोद विक र हिमाल विकले बालकपनमै आमाबाबु गुमाए । २०७३ मा आमा रंगा विकको सुत्केरी हुन नसक्दा मृत्यु भयो । त्यसको तीन वर्षपछि २०७६ मा बाबु चक्रबहादुर विकले पनि जन्डिसले यो धर्ती छाडे । यी टुहुरा बालक अहिले ७५ वर्षीय हजुरबाको आश्रयमा छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

आमाको मृत्युको प्रसंगले विनोदलाई बेलाबेलामा झस्काउँछ । आमाले तेस्रो सन्तान पाउने कुराले विनोद खुसी थिए । व्यथा लागेपछि आमा प्राथमिक स्वास्थ्य केन्द्रमा ठाटीकाँध पुगिन् । बच्चा उल्टो भएको भन्दै ठाटीकाँधले अन्य अस्पताल रिफर गर्यो ।

अन्य अस्पताल जाने पैसा नहुँदा प्रसव पिडामा रहेकी रंगा दुई दिनसम्म स्वास्थ्य केन्द्रमै छटपटाई रहिन् । गाउँका साहु महाजनबाट ऋण बटुलेर रंगालाई दुई दिनपछि मात्र सुर्खेत अस्पताल लगियो । अस्पताल जाने क्रममा प्रदेश अस्पतालको गेटमा पुग्नेबित्तिकै उनले प्राण त्यागिन् । आमाको मृत्यु हुँदा विनोद चार वर्षका थिए भने हिमाल दुई वर्षका ।

बच्चा जन्माउन स्वास्थ्य केन्द्रमा पुगेकी आमा उतै अस्ताए पनि विनोद र हिमाललाई आमा आउने आश मरेको छैन । ‘आमा मरेकी छैनन्, उपचारमै छिन् । सन्चो भएपछि आउँछन्,’ विनोद भन्छन् ।

७५ वर्षीय हजुरबा किर्थे कामी नाबालक नातिहरूको कुराले भावुक बन्छन् । गहभरि आँसु बनाउँदै उनले भने, ‘चाडपर्वमा अरूको घरमा आमाबाबु जम्मा भएको देख्दा हाम्री आमा कहिले आउँछिन् भनेर सोध्छन् । त्यसबेला मन नै थाम्न सक्दिनँ ।’

आकाशमा हवाइजहाज उडेको आवाज सुन्नेबित्तिकै विनोद र हिमाल चिच्याउँदै भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है चिलगाडी ।’

त्यसो त त्यस भेगमा बाबुआमा कामका लागि अन्यत्र गएपछि घरमा भएका सन्तानले उडिरहेको हवाइजहाज देखेपछि त्यही भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है ।’

प्रकाशित : शुक्रबार, माघ १४, २०७८०८:५९

डीडीसीकै दूधको गुणस्तर कमसल, दूधमा ‘तर’ झिकेर लाखौं घोटाला !