काठमाडौं । सरकारी स्वामित्वमै रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उच्च तहका कर्मचारीको मिलोमतोमा दूधबाट तर (चिल्लो पदार्थ) झिकेर बजारमा बिक्री हुने गरेको तथ्य फेला परेको छ । दूधबाट ‘तर’ मारेर बाहिरी बजारमा बिक्री गरि महिनामै लाखौं रुपैयाँ कर्मचारीहरुले अवैद्य रुपमा कमाउँदै आएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
यस्तो रकम डीडीसीका महाप्रवन्धकदेखि आयोजना प्रमुख र प्रयोगशाला प्रमुखसम्मलाई भागवण्डा लगाइन्छ । दूधबाट झिकिएको चिल्लो पदार्थ ‘तर’ कै रुपमा वा घीउको रुपमा गोप्य तरिकाले बजारमा बिक्री हुँदै आएको छ । यस्तो कामका लागि बालाजुस्थित काठमाडौं दुग्ध बितरण आयोजना सबैभन्दा अगाडि रहेको छ ।
उक्त आयोजनालाई दुहुनो गाई बनाइएका कारण नै डीडीसी पछिल्लो समय धरासायी बन्दै गएको हो । खाद्य विज्ञानका अनुसार दूधको ‘तर’ वा चिल्लो पदार्थ भनेको प्रमुख तत्व हो । तोकिएको मापदण्डमा यो तत्व नभएको दूध पानीजस्तै हो । तर, डीडीसीका उच्च तहको अधिकारीकै मिलोमतोमा बर्षाैदेखि दूधबाट ‘तर’ झिकेर उपभोक्तालाई समेत गुणस्तरहिन कमशल दूध बिक्री गरिँदै आएको छ ।
दूधबाट ‘तर’ झिकेर लाखौं रुपैयाँ कर्मचारीले कुम्ल्याए पनि लैनचौरस्थित केन्द्रिय कार्यालयले यसतर्फ केही वास्ता गरेको पाइँदैन । यसका अतिरिक्त यति संवेदनशील विषयमा सम्बन्धित कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले समेत दोषिलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन् ।
स्रोत भन्छ, ‘घोटालाको रकम डीडीसीको महाप्रवन्धकदेखि डीडीसी हेर्ने मन्त्रालयको सहसचिबसम्म भागवण्डा लगाइएका कारण हालसम्म कसैमाथि कारवाही भएको छैन् । बरु उल्टै घोटाला गर्ने कर्मचारीलाई पहुँच र आर्थिक चलखेलका आधारमा केन्द्रिय कार्यालयको ठूलो पदमा पदोन्नतीसमेत गरिएको छ ।’
डीडीसीले उत्पादन गरी बजारमा पठाएको प्याकेट दूधमा समेत सरकारले तोकेको मापदण्डअनुसार ‘तर’ को मात्रा फेला नपरेको पाइएको छ । यो भनेको आयोजनास्थलमै दूधबाट ‘तर’ झिकेर गुणस्तरहिन दूध बजारमा पठाउनु हो ।
सौर्य दैनिकलाई प्राप्त आधिकारिक कागजातले समेत दूधमा ‘तर’ मार्ने गरिएको बिषयलाई पुष्टि गरेको छ । सरकारकै मापदण्डअनुसार प्रशोधित दूधमा तीन प्रतिशत फ्याट (तर) अनिवार्य रुपमा हुनुपर्छ ।
तर, डीडीसीले बजारमा पठाउने प्रशोधन गरिएको प्याकेट दूधमा २.५ देखि २.८ प्रतिशतको हाराहारीमा मात्रै फ्याटको मात्रा भेटिएको छ । डीडीसीको दूधमा मापदण्ड विपरीत एक लाइनदेखि सात लाइनसम्म ‘तर’ मारेर अनियमितता गर्ने परम्परा नै बसिसकेको छ । दूधबाट मिलेमतोमा कसरी ‘तर’ मारिन्छ भन्ने बिषयमा तथ्यगत रुपमा बुझ्न केही बर्ष पछाडि जानुपर्ने हुन्छ ।
दूधमा ‘तर’ मारेको विषयमा अख्तियारको आँखा
डीडीसीले बजारमा पठाएको दूधमा तोकिएको मापदण्डभन्दा कम परिमाणमा ‘तर’ को मात्रा रहेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंका गरेको थियो । अख्तियारले यो शंकालाई निबारण गर्न अनुगमन गर्ने योजना बनायो ।
यसका लागि अख्तियारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई २०७६ साल साउन ४ गते विशेषज्ञसहितको सेवा उपलब्ध गराइदिने बिषयमा ‘अत्यन्त जरुरी गोप्य’ भनेर निर्देशनसहित पत्राचार गरेको थियो ।

