एजेन्सी – बोरुसिया डर्टमुण्डका स्ट्राइकर एर्लिङ हालाण्डले प्रिमियर लिग क्लब लिभरपुलका सेन्टर ब्याक भर्जिल भान डाइक विश्वकै उत्कृष्ट डिफेन्डर रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा हालाण्डले भान डाइक आफूले सामना गरेका मध्ये सबै भन्दा उत्कृष्ट डिफेन्डर रहेको बताएका हुन्।
ईएसपिएनसँग कुराकानी गर्नेक्रममा हालाण्डले भान डाइकको खुलेर प्रशंसा गरे। भान डाइक विरुद्ध खेल्न धेरै कठिन भएको हालाण्डको भनाई छ। क्लब स्तरीय तथा देशस्तरीय खेलहरुमा भान डाइकको सामना गरेको अनुभवका आधारमा हालाण्डले त्यस्तो भनेको बुझिएको छ।
हालाण्डले भान डाइक शारीरिक रुपले धेरै उत्कृष्ट रहेको र उनको टाइमिङ पनि धेरै राम्रो रहेको बताए। हालाण्डले भान डाइकलाई एक ‘मोन्सटर’ नै भने। भान डाइक विरुद्ध मैदानमा जित्न नसकेको हालाण्डको भनाई छ।
“तपाईलाई थाहा छ उनी कति अग्लो छन्, कति बलियो छन् र कति छिटो छन् ? साथै उनको टाइमिङ पनि गज्जबको छ। मलाई लाग्दैन कि मैले उनलाई एकपटक पनि छक्याउन सकेको छु किनभने उनी साँचै एक शारीरिक मोन्सटर हुन्।”,हालाण्डले भने।
हालाण्डले भान डाइकको प्रशंसा गरेको यो पहिलो पटक भने होइन। यस अगाडी पनि हालाण्डले विभिन्न अवसरहरुमा भान डाइकको खुलेर प्रशंसा गर्दै आएका छन्।
विश्वकप छनौटमा नर्वेबाट नेदरल्याण्डको सामना गरेपछि पनि हालाण्डले यस्तै प्रकारको टिप्पणी गरेका थिए। त्यसबेला हालाण्डले भान डाइक आफूले खेलेका मध्ये सबै भन्दा उत्कृष्ट डिफेन्डर रहेको बताएका थिए।

