एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका स्टार डिफेन्डर भर्जिल भान डाइकले लिभरपुल कुनै पनि टीमका लागि सहज प्रतिद्वन्दी नरहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा भर्जिल भान डाइकले लिभरपुल कुनै पनि टीमका लागि सहज र राम्रो प्रतिद्वन्दी नरहेको बताएका हुन्।
लिभरपुलसँग धेरै ‘हतियार’ रहेको भान डाइकले बताए। हरेक स्थानका लागि लिभरपुलसँग उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी रहेको भान डाइकको भनाई छ। लिभरपुल डिफेन्ड गर्ने देखि काउन्टर अट्याक गर्ने सम्ममा उत्कृष्ट रहेको भान डाइकले दावी गरे।
“मलाई लाग्दैन कि कुनै पनि टोलीका लागि हामी सहज र राम्रो प्रतिद्वन्दी छौँ। हामीसँग धेरै हतियारहरू छन्। एक टोलीको रुपमा हामी राम्रोसँग रक्षा गर्न सक्छौं। तर काउन्टर प्रेस पनि हामी उत्तिकै राम्रोसँग गर्न सक्छौं।”,भान डाइकले भने।
लिभरपुलसँग सबै स्थानमा महत्वपूर्ण योगदान गर्न सक्ने खेलाडी रहेको पनि भान डाइकले बताए। क्लबमा रहेका सबै खेलाडीहरुसँग छुट्टाछुट्टै जिम्मेवारी रहेको र त्यो जिम्मेवारीलाई सबै खेलाडीहरुले राम्रोसँग निभाइरहेको उनको भनाई छ।
उनले भने,”यदि तपाई हामीसँग भएका खेलाडीहरुलाई हेर्नुहुन्छ भने ती सबै आफ्नो स्थानमा उत्कृष्ट छन्। विपक्षी टोलीलाई कठिन चुनौती दिने आफ्नो जिम्मेवारीलाई पूरा गर्ने हामी सबैको प्रयास रहनेगर्छ।”
त्यस्तै उनले लिभरपुलमा धेरै राम्रो एकता रहेको र क्लबको सबै भन्दा सुन्दर पक्ष पनि त्यहि नै रहेको समेत बताए। लिभरपुलमा सबैले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने उनको भनाई छ।

