एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई क्याटलान क्लब बार्सिलोनाले झड्का दिने भएको छ। लिभरपुलको प्राथमिकतामा रहेका वुल्भका स्पेनिस विंगर एडामा ट्राओरे भित्र्याउने दौडमा बार्सिलोनाले लिभरपुललाई झड्का दिने भएको हो।
पछिल्लो केहि समय देखि लिभरपुलको नजर वुल्भका स्पेनिस विंगर एडामा ट्राओरेमा थियो। गत ट्रान्सफर विन्डोमा समेत लिभरपुलले ट्राओरेलाई भित्र्याउने प्रयास गरेको थियो। तर त्यसबेला ट्राओरेको ट्रान्सफर सम्भव भएको थिएन।
त्यस्तै यस जनवरी ट्रान्सफर विन्डोमा पनि लिभरपुलले ट्राओरेलाई भित्र्याउन प्रयास गरिरहेको थियो। तर क्याटलान क्लब बार्सिलोनाले सो दौडमा लिभरपुललाई पछि पार्ने देखिएको छ।
स्पेनिस मिडियाहरुको दावीलाई मान्ने हो भने ट्राओरेको विषयमा वुल्भ्स र बार्सिलोना एक तहको सहमतिमा पुगिसकेका छन्। आउने केहि दिन भित्रै दुई पक्ष बीच सम्झौता हुन सक्ने उच्च सम्भावना रहेको छ।
ट्राओरे पहिला पनि बार्सिलोनाबाट खेलिसकेका खेलाडी हुन्। उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए। युवा अवस्थामा बार्सिलोनाका लागि केहि खेल खेल्ने मौका पाएपनि उनलाई बार्सिलोनाले धेरै जस्तो प्रयोग गरेको थिएन।
तर प्रिमियर लिग पुगेपछि भने ट्राओरेले आफूलाई एक अब्बल विंगरको रुपमा विकसित गरेका छन्। सन् २०१८ देखि उनी वुल्भ्समा छन्। बार्सिलोनाले ट्राओरेलाई लोनमा ल्याउन लागेको बताइन्छ। सहमति हुन सकेको खण्डमा खरिद गर्न सकने विकल्प सहित ट्राओरे केहि दिन भित्रै बार्सिलोना आइपुग्नेछन्।

