एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले पोर्टो स्टार लुइस डियाजलाई भित्र्याउने भएको छ। क्लबको आक्रमण पङ्तीलाई थप मजबुत बनाउने अभियानमा रहेको लिभरपुलले डियाजलाई भित्र्याउने भएको हो।
डियाज गएको केहि समय देखि लिभरपुलको नजरमा रहेका थिए। लिभरपुलको खेल्ने शैली र वातावरणका लागि डियाज उपयुक्त रहेको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपको निष्कर्ष रहेको बताइन्छ।
क्लोपको ध्यान डियाजमा गएसँगै क्लबले उनलाई भित्र्याउने तयारी गरिरहेको बेलायती मिडियाहरुको दावी छ। डियाजलाई भित्र्याउन अन्य क्लबहरु समेत इच्छुक रहेपनि सो दौडमा सबै भन्दा अगाडी लिभरपुल देखिएको छ।
सहमति भैसकेको दावी
डियाज यति बेला विश्वकप छनौटका लागि कोलम्बियाको राष्ट्रिय टोलीमा फर्किसकेका छन्। उनी देशका लागि खेल्दै गर्दा पोर्चुगलबाट प्रकाशित हुने केहि पत्रिकाहरुले डियाजको विषयमा पोर्टो र लिभरपुल एक सहमतिमा पुगिसकेको दावी गरेका छन्।
डियाजको विषयमा दुई क्लब एक सहमतिमा पुगिसकेको र डियाजका लागि लिभरपुल ४५ मिलियन युरोमा १५ मिलियन युरो थप तिर्न तयार भएको पोर्चुगल प्रकाशन ओ जोगोले जनाएको छ।
डियाज भित्र्याउने दौडमा प्रिमियर लिग क्लब टोटेनह्याम समेत थियो। तर डियाज लिभरपुल जान बढी इच्छुक देखिएपछि टोटेनह्याम व्यक भएको बताइन्छ। घरेलु लिग तथा च्याम्पियन्स लिगमा डियाजले पोर्टोका लागि प्रभावशालि प्रदर्शन गरेका थिए।

