पाँच दिनमा १ सय ५१ अंकले घट्यो नेप्से !

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १ सय ५१ दशमलव २८ अंकले घटेको छ । गत साताको अन्तिम दिन २ हजार ९ सय ३१ दशमलव २६ को बिन्दुमा रहेको नेप्से सूचक साताको चार दिन लगातार घटेर बिहीबार भने ३ दशमलव ३३ अंकले बढेर २ हजार ७ सय ७९ दशमलव ९८ को बिन्दुमा पुगेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

यस साता २ सय ४६ कम्पनीको २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार ८ ससय ९ रुपैयाँ बराबरको ५ करोड ७५ लाख ८६ हजार ६ सय ९२ कित्ता सेयर कारोबार भएका छन् । लगानीकर्ताले झन्डै १ खर्ब ९८ अर्ब रुपैयाँ पुँजी गुमाएका छन् । साताको सुरुवातमा ४१ खर्ब २७ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपश्चात् घटेर ३९ खर्ब २८ अर्ब रुपैयाँमा सीमित भएको छ ।

करिब २९ अर्बको सेयर कारोबार

साताको सुरुवातदेखि लगातार घटेको सेयर बजारमा कारोबार रकमसमेत उत्साहजनक देखिएको छैन । अहिले बजारमा विभिन्न अड्कलबाजीले पनि लगानीकर्ताको मनोबल कमजोर बनाएको अनुमान गरिएको छ । सरकारले आन्तरिक ऋण उठाउन थालेका कारण फेरि तरलता असहज हुने कतिपयको अनुमान छ ।

अर्कोतर्फ, अर्थतन्त्रका सूचकहरू खराब रहेको र बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक विवरण अपेक्षाअनुसार राम्रो नआएका कारण पनि बजारलाई असर परेको विश्लेषण गरिएको छ । अर्कोथरी लगानीकर्ताका अनुसार अल्पकालीन लगानीकर्ता हाबी हुदाँ बजार ओरालो लागेको हो ।

यस साता कारोबारमा आएका २ सय ४६ कम्पनीमध्ये अपी पावर कम्पनीको सर्वाधिक १ अर्ब ८ करोड १३ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एसिया बैंकको ८८ करोड १७ लाख, नेपाल दूरसञ्चार कम्पनीको ७५ करोड ७७ लाख, शिखर इन्स्योरेन्स कम्पनीको ६३ करोड ५ लाख बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स गत साताको अन्तिम दिनको तुलनामा २५ दशमवल शून्य २ अंकले घटेर ५ सय १८ दशमलव ७२ को बिन्दुमा पुगेको छ ।

प्रकाशित : शनिबार, माघ १५, २०७८०९:३१

दबाबमा उपेन्द्र यादव, पार्टी दुर्घटनामा पर्ने चेतावनी !