एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सोमबार राति कप डि फ्रान्सको प्रि–क्वाटरफाइनलमा लिग वान प्रतिद्वन्द्वी निससँग प्रतिस्पर्धा गरेको थियो ।
निर्धारित समयमा कुनै गोल निस्कन नसक्दा टाइब्रेकरमा निसलाई ६–५ ले नतिजा सुम्पदा साविक विजेता पिएसजी प्रि–क्वाटरफाइनलबाटै बाहिरियो । यस खेलमा यसै समरमा क्याटलान क्लब बार्सिलोनाबाट आएका अर्जन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेले पहिलो रोजाईमै सुरुवात गरे ।
चोटका कारण नेयमार भने टोलीमा रहेका थिएनन् । मेस्सीलाई पिएसजीमा सिजनको सुरुवातमा ३० नम्वरको जर्सी प्रदान गरिएको थियो । तर निसविरुद्धको खेलमा उनले आफ्नो पूरानो १० नम्वरको जर्सी नै लगाएर खेले । पिएसजीमा १० नम्वरको जर्सी सिजनभर नेयमारले प्रयोग गर्दै आएका छन् । तर मेस्सीले यसअघि बार्सिलोना र अर्जेन्टिनाको लागि प्रयोग गर्दै आइरहेको १० नम्वरको जर्सीलाई निसविरुद्धको खेलमा किन प्रयोग गरे त ? जवकि उनले पिएसजीमा ३० नम्वरको जर्सी लगाउँदै आएका छन् । यसबारे केही तथ्य रहेको छ ।
कप डि फ्रान्सको परम्पराअनुसार प्रि–क्वाटरफाइनलमा पहिलो रोजाईमा हुने टोलीले १ देखि ११ नम्वरसम्मको जर्सी लगाउनुपर्नेछ । चोटका कारण नेयमार नभएपछि पिएसजीले मेस्सीलाई १० नम्वरको जर्सी प्रदान गरेको हो । त्यसपछि अन्य खेलाडीले १२ देखि २० नम्वरको जर्सी प्रयोग गर्ने प्रावधान छ ।
गत नोभेम्वरमा सेन्ट इटिएनविरुद्ध लिग वानमा बायाँ घुँडामा चोट बोेकेका नेयमारले निसविरुद्ध नखेल्ने पक्का भएपछि नै मेस्सीलाई अस्थायी रुपमा १० नम्वर जर्सी प्रदान गरिएको हो । पिएसजी क्वाटरफाइनलमा पुग्ने र नेयमार फर्किएको अवस्थामा नेयमारले १० नम्वर जर्सी लगाउनुपर्ने र मेस्सीले जर्सी परिवर्तन गर्नुपर्ने हुनेथियो । तर, पिएसजी नै बाहिरिएपछि यो झन्झट हटेको छ ।
मेस्सीले लगाउने जर्सी नम्वर १० बार्सिलोनाको सबैभन्दा प्रतिष्ठित मध्ये एक हो । मेस्सी र १० नम्वर पर्याय जस्तै छ । बार्सिलोनाबाट आफ्नो करियर सुरु गर्दा मेस्सीले ३० नम्वर लगाएका थिए । आफुलाई नियमित रुपमा क्लबमा स्थापित गरेपछि उनले १९ नम्वर जर्सी लगाए । पछि रोनाल्डिन्होले बार्सिलोना छाडेपछि मेस्सीले बार्सिलोनामा १० नम्वरको जर्सी पाएका थिए ।

