एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेले सानदार जित दर्ता गर्दे विश्वकपा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
उरुग्वेले घरेलु मैदानमा भेनेजुएलालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा उरुग्वेको सानदार जितमा रोड्रिगो बेन्टानकर, जिओरजियन एरासकाइटा, इडिन्सन काभानी र लुइस सुआरेजले गोल गरे ।भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काए ।
मोन्टेभिडियो उरुग्वेमा बुधबार बिहान भएको खेलको पहिलो मिनेटमा नै रोड्रिगो बेन्टानकरको गोलबाट उरुग्वेको अग्रता लिएको थियो । २३औं मिनेटमा जिओरजियन एरासकाइटाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडिन्सन काभानीले जिओरजियन एरासकाइटाको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।
५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई ४–० ले अघि बढाए । नाहुइल फेरारेसीले पेनाल्टी बक्समा फकुन्डो पेलिस्ट्रिलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उरुग्वेलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् ।
६५औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काउँदै टोलीको आशा जीवितै राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा उरुग्वे विजयी हुन सफल भयो ।
यो जितसँगै उरुग्वे १६ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भेनेजुएला १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा चिलीले बोलिभियामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । चिलीको जितमा एलेक्सिस साञ्चेजले दुई तथा मार्सेलिनो नुनेजले एक गोल गरे । बोलिभियाका मार्क इनोउम्वा र मार्सेलो मोरेनाले गोल गरेपनि हार टार्न सकेन ।
जितपछि चिली १६ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

