अवार्ड पाएपछि बेन्जेमाले भने – ‘सन् २०२१ मेरो उत्कृष्ट वर्ष थियो, धेरै राम्रो खेलें’

एजेन्सी – रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई म्याड्रिड स्पोर्ट्स प्रेस एसोसिएसनबाट अवार्ड प्रदान गरिएको छ। बेन्जेमाको तर्फबाट एमिलियो बुट्रागुएनोले अवार्ड सङ्कलन गरे। बेन्जेमा आफैं उपस्थित हुन नसकेपछि बुट्रागुएनोले अवार्ड बुझेका हुन्।

अवार्ड कार्यक्रममा उपस्थित हुन नसकेपनि बेन्जेमाले सो अवार्ड पाएकोमा खुशी व्यक्त गरे। बेन्जेमाले सामाजिक संजालमा सो अवार्ड सहितको तस्विर पोस्ट गर्दा अवार्ड पाएकोमा खुशी व्यक्त गरेका हुन्। राम्रो फुटबल खेल्ने लक्ष्य राखेर अगाडी बढ्ने बेन्जेमाको भनाई छ।

साथै रियल म्याड्रिड टिभीसँग कुराकानी गर्दै बेन्जेमाले सन् २०२१ आफ्नो लागि उत्कृष्ट वर्ष रहेको बताए। धेरै गोल गर्दै धेरै असिस्ट दिएर आफ्नो टीमलाई मद्दत पुर्याउन पाएकोमा बेन्जेमाले खुशी व्यक्त गरे।

“यो अवार्ड जित्न पाउँदा धेरै खुशी छु। र मलाई यसमा गर्व पनि लागेको छ। यो मेरो उत्कृष्ट वर्ष थियो किनभने मैले धेरै गोल गरें, धेरै असिस्ट दिएँ र मैले मेरो टोलीलाई जित्न मद्दत गरें।”,बेन्जेमाले भने।

रियल म्याड्रिडमा रहेर धेरै भन्दा धेरै खेल जित्ने र सबै प्रतियोगिता जित्ने उद्देश्य आफ्नो रहेको पनि बेन्जेमाले बताए। सबै प्रतियोगितामा रियल म्याड्रिड रहेको बेन्जेमाको भनाई छ।

उनले भने,”रियल म्याड्रिडको उद्देश्य सधैं ट्रफी जित्नु र हरेक प्रतियोगिता जित्नु हो। हामी राम्रो गर्दैछौं, हामी सबै प्रतियोगितामा जीवित छौं। सबै उपाधिका लागि हामी लड्नेछौँ।”

सन् २०२१-२२ को सिजनमा बेन्जेमाले रियल म्याड्रिडका लागि २८ खेल खेलिसकेका छन्। यसबीचमा उनले २४ गोल गरिसक्दा ९ असिस्ट दिएका छन्। यस मध्ये बेन्जेमाले १७ गोल लालिगामा गरेका छन् भने ७ असिस्ट दिएका छन्।

प्रकाशित : बुधबार, माघ १९, २०७८१२:०१

सलाहको प्रशंसामा उत्रिए मिल्नर ! के भने ?