झनै बलियो भयो लिभरपुल, अब कसले रोक्न सक्ला ?

एजेन्सी – जनवरी ट्रान्सफर विन्डो बन्द भइसकेको छ। एक महिना खुला भएको ट्रान्सफर विन्डोमा युरोपका धेरै क्लबहरुले आफ्नो क्लबलाई बलियो बनाउन खेलाडीहरु भित्र्याउने काम गरे। महिनाभर प्रयास गरेपनि केहि क्लबले भने खेलाडी भित्र्याउन सकेनन्। बेलायती क्लबहरुले त जनवरीमा सन् २०१८ पछिकै अत्याधिक खर्च गरे।

युरोपका लगभग सबै शिर्ष लिगका आधा खेल सकिसकेको अवस्थामा जनवरी ट्रान्सफर विन्डोपछि समीकरण नै परिवर्तन हुने अवस्था बनेको छ। यसपालिको जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब लिभरपुलले पनि केहि सक्रियता देखायो।

लिभरपुल युरोपका धेरै क्लबको नजर रहेका लुइस डियाजलाई भित्र्याउन सफल भयो। डियाजलाई भित्र्याउने दौडमा लिभरपुलले प्रिमियर लिगकै अर्को क्लब टोटेनह्यामलाई पछि पारेको थियो। डियाजलाई भित्र्याउन लिभरपुलले झन्डै ४९ मिलियन युरो खर्च गरेको बताइन्छ।

डियाजको आगमनसँगै लिभरपुलको आक्रमणपङ्ती पहिला भन्दा पनि बढी राम्रो हुने धेरैको अनुमान छ। लिभरपुलमा पहिला देखि मोहम्मद सलाह, साडियो माने, बबी फर्मिनो र डिएगो जोटा जस्ता राम्रा फरवार्ड छन्। अब सो सूचीमा अब डियाजको पनि नाम हुनेछ।

पोर्टोमा डियाजको प्रदर्शन

डियाज पोर्टोमा हुँदा धेरै नै राम्रो प्रदर्शन गरिरहेका थिए। पोर्चुगलको घरेलु लिगमा डियाजले पोर्टोका लागि जारी सिजनमा १८ खेल खेलेका छन्। जसमा उनले १४ गोल गर्दै ४ असिस्ट दिएका छन्। डियाज जुन गतिले खेल्छन्, त्यसले पनि धेरैलाई चकित बनाइसकेको छ। डियाज थप भएपछि लिभरपुल झनै घातक हुने अहिले देखि अनुमान लगाउन सकिन्छ।

फुटबल पण्डितहरु त यति बेला लिभरपुल युरोपकै उत्कृष्ट आक्रमणपङ्ती भएको क्लब रहेको दावी गर्न थालेका छन्। जारी सिजनमा तहल्का नै मच्चाइरहेका सलाह र जोटाका अलावा डियाज समेत क्लबमा हुँदा लिभरपुल थप बलियो हुने फुटबल पण्डितहरुको दावी छ।

प्रकाशित : बुधबार, माघ १९, २०७८२१:१४

चम्किए माने, सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा !