चम्किए माने, सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा !

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने चम्कदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो ।

क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे । मानेले एक असिस्ट समेत दिए । बुर्किना फासोका इब्राहिमा ब्लाटी टाउरेले एक गोल फर्काए ।

सबै चार गोल दोस्रो हाफको अन्त्यतिर १७ मिनेटको अन्तरमा भएको थियो । दुवै टोलीले पहिलो हाफमा गोलका केही सुवर्ण अवसर खेर फालेको थियो ।

७०औं मिनेटमा एब्डोउ डिएलोले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए । उनले कालिडोउ काउलीबेलीको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा इड्रिसा गाना गुआइले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारे । उनले साडियो मानेको पासमा गोल गर्न सफल भएका थिए ।

८२औं मिनेटमा इब्राहिमा ब्लाटी टाउरेले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्कने संकेत दिएपनि दोस्रो गोलमा असिस्ट दिएका मानेले ८७औं मिनेटमा इस्माइला सारको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सेनेगल तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । सेनेगलसँगको हारसँगै बुर्किना फासो दोस्रोपटक फाइनल पुग्नबाट वञ्चित बन्यो । बुर्किना फासो यसअघि २०१३ मा फाइनलमा प्रवेश गरेको थियो । उपाधि भने जित्न सकेको छैन ।

अब सेनेगलले उपाधिका लागि आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग ६ फेब्रुअरीमा खेल्नेछ । सोही दिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । क्यामरुन र इजिप्टले फाइनल प्रवेशका लागि आज राति प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८०९:१४

एन्सेलोटीले भने -‘हामी बेन्जेमालाई जोखिममा राख्दैनौं’