एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को किलियन एम्बाप्पे अड्याउने अभियान असफल भएको छ। क्लबबाट लगातार गरिएका प्रस्तावमा एम्बाप्पे सहमत हुन नसकेसँगै पिएसजी एम्बाप्पेलाई क्लबमै राख्ने अभियानमा असफल भएको हो।
पिएसजीले गएको केहि वर्ष देखि एम्बाप्पेलाई सम्झौता थप गर्न दबाव दिरहेको थियो। तर पिएसजीको तर्फबाट भएका सबै प्रस्ताव एम्बाप्पेले अस्विकार गरिदिए। पिएसजीले एम्बाप्पेलाई अड्याउन थोरै प्रयास गरेन। एम्बाप्पेलाई क्लबको केन्द्रमा राख्ने र चाहेको जति पारिश्रमिक दिने प्रस्ताव राख्दा पनि एम्बाप्पे सहमत हुन सकेनन्।
जर्मन मिडिया विल्डका अनुसार एम्बाप्पेको विषयमा पिएसजी निराश भइसकेको छ। एम्बाप्पे कुनै पनि हालतमा क्लब छाड्ने पक्षमा रहेको निष्कर्षमा पिएसजी पुगिसकेको विल्डको दावी छ।
गएको केहि समय देखि पिएसजीले एम्बाप्पेलाई थप प्रस्ताव गर्न नै छाडिसकेको बताइन्छ। यसबीचमा एम्बाप्पेले रियलसँग अग्रिम सम्झौता गरिसकेको चर्चा पनि शुरु भएको छ। जर्मन मिडिया विल्ड मात्र नभई स्पेनका पत्रिकाहरुले पनि यस विषयमा समाचार सम्प्रेषण गरिरहेका छन्।
एम्बाप्पेले रियलसँग अग्रिम सम्झौता गरिसकेको र सो सम्झौता गोप्य राखिएको खेल मिडियाहरु बताउँछन्। दुई पक्ष बीच भएको अग्रिम सम्झौता बारे आउने महिनाहरुमा खुल्दै जाने स्पेनिस मिडियाहरुको दावी छ।
पिएसजीले गुमायो २ सय मिलियन युरो
गत सिजनको अन्त्यमा एम्बाप्पेले पिएसजी छाड्न धेरै नै बल गरेका थिए। त्यस बेला उनले आफूलाई रियल पठाइदिन पिएसजीलाई आग्रह गरेका थिए। रियलले पनि त्यस बेला नै एम्बाप्पेलाई किन्न चाहेको थियो। रियल एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म खर्च गर्न तयार थियो।
तर पिएसजीले एम्बाप्पेलाई बिक्री गर्न चाहेन। त्यसबेला नै पिएसजीले एम्बाप्पेलाई बिक्री गरिदिएको भए अन्य खेलाडी किन्नको लागि पिएसजीसँग सो रकम हुने थियो। तर अब एम्बाप्पे सित्तैमा रियल जान पाउनेछन्।

