“लेवान्डोस्की मेस्सी र रोनाल्डोको छायाँमा परे, नत्र छुट्टै स्थानमा हुन्थे”

एजेन्सी – नेदरल्याण्ड्सका पूर्व फुटबलर रुड गुलिटले लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको कारण रोबर्ट लेवान्डोस्की छायाँमा परेको बताएका छन्। एक सक्षात्कारका क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिनेक्रममा गुलिटले मेस्सी र रोनाल्डोका कारण लेवान्डोस्की छायाँमा परेको बताएका हुन्।

मेस्सी र रोनाल्डो जस्ता खेलाडीको युगमा खेल्नु नै लेवान्डोस्कीको अभागीपन रहेको गुलिटले बताए। मेस्सी र रोनाल्डो धेरै उत्कृष्ट रहेका कारण लेवान्डोस्कीको अवमूल्यन भएको गुलिटको बुझाई छ।

लेवान्डोस्की लामो समय सम्म छायाँमा परेको र चर्चामा आउन पनि समय लागेको गुलिटले बताए। बायर्न म्युनिखका लागि लेवान्डोस्कीले धेरै राम्रो गरेपनि त्यस बारे धेरै समय सम्म चर्चा नै नभएको गुलिटको तर्क छ।

“मलाई लाग्छ कि मेस्सी र रोनाल्डोको युगमा खेलेकै कारण उनी छायाँमा परेका छन्। मेस्सी र रोनाल्डोका लागि उनको कम मूल्याङ्कन गरिएको छ। बायर्न म्युनिखमा रहेर उत्कृष्ट प्रदर्शन गरेपनि उनको खासै चर्चा नै भएन। चर्चामा आउन समेत उनलाई समय लाग्यो।”,गुलिटले भने।

फुटबलको मामलामा केहि कम्जोर रहेको पोल्याण्डबाट खेल्ने भएका कारण पनि लेवान्डोस्की ओझेलमा परेको पनि गुलिटले बताए। पोल्याण्डले कुनै प्रमुख अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको भए अवस्था फरक हुन्थ्यो भन्ने उनको बुझाई छ।

उनले भने,”पोल्याण्ड अलि कम्जोर छ र पोल्याण्डले खासै ठूलो उपाधि जित्न सकेको छैन। लेवान्डोस्कीका लागि यो पनि दुर्भाग्यपूर्ण रह्यो। पोल्याण्डबाट केहि महत्वपूर्ण जित्न सकेको भए उनको कद अझ बढ्थ्यो। सायद यहि कारणले गर्दा पनि उनले बालोन डी’ओर जित्न सकेनन्।”

प्रकाशित : बिहिबार, माघ २०, २०७८१७:५३

“सलाह एम्बाप्पेको छेउ-छाउ पनि छैनन्, स्तर नै मिल्दैन”