एजेन्सी – क्यामरुनका कप्तान भिन्सेन्ट अबुबाकरले मोहम्मद सलाह किलियन एम्बाप्पेको स्तरमा नरहेको बताएका छन्। अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा इजिप्टको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा अबुबाकरले सलाह एम्बाप्पेको स्तरमा नरहेको बताएका हुन्।
आफूले पहिला देखेको सलाह र अहिलेको सलाहमा कुनै पनि भिन्नता नरहेको अबुबाकरले बताए। अबुबाकरका अनुसार वर्तमान सलाहलाई देखेर उनी प्रभावित छैनन्। सलाह प्रिमियरमा उत्कृष्ट प्रदर्शन गरिरहेपनि उनीबाट आफू प्रभावित नरहेको अबुबाकरको भनाई छ।
“म सलाहलाई पहिले जस्तै देख्छु। म उनको प्रदर्शनलाई देखेर त्यति प्रभावित भएको छैन। म यो स्पष्ट रूपमा भन्छु किनभने म एक इमान्दार व्यक्ति हुँ र मेरो चीजहरू हेर्ने आफ्नै तरिका छ। म प्रभावित हुन्थें भने पक्कै पनि प्रभावित भएको बताउँथें। तर म सलाहबाट प्रभावित छैन।”,अबुबाकरले भने।
त्यसो भनिरहँदा अबुबाकरले सलाह राम्रो खेलाडी रहेको बताउन भने छाडेनन्। सलाह धेरै गोल गर्ने भएपनि उनले खेलमा धेरै राम्रा सम्भावनाहरु भने उत्पादन गर्न नसक्ने अबुबाकरको भनाई छ। वर्षौं देखि रहेको टीमका लागि भने सलाहले प्रिमियर लिगमा राम्रो गरिरहेको अबुबाकरले बताए।
अबुबाकरले भने,”उनी एक राम्रो खेलाडी हुन्। उनी धेरै भन्दा धेरै गोल गर्छन्। तर उनी खेलमा अन्य राम्रा सम्भावनाहरु भने उत्पादन गर्न सक्दैनन्। निस्सन्देह उनले प्रिमियर लिगमा राम्रो गरिरहेका छन् र उनी एकै टीममा वर्षौ देखि छन्। उनी राम्रो खेलाडी भएपनि एम्बाप्पेको स्तरका छैनन्।”

