बार्सिलोनालाई हराएको बिल्वाओले रियललाई पनि हावा ख्वायो, रियल कोपा डेल रेबाट आउट !

एजेन्सी – रियल म्याड्रिडलाई स्तब्ध पार्दै एथलेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदान सान मामेसमा बिल्वाओको जितमा अन्तिम समयमा एलेक्स बेरेनगुएरले गरेको गोल नै निर्णायक बन्यो । उनले ८९औं मिनेटमा मिकेल भेस्गाको पासमा गोल गर्दै रियललाई स्तब्ध पार्न पर्याप्त बन्यो । खेल भर रियलले बल पोसेसन राखेपनि बिल्वाओले नै बढी आक्रमण बुनेको थियो ।

नवौं मिनेटमा ड्यानी गार्सियाको प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा एलेक्सले गोल गर्दै बिल्वाओलाई सुरुवाती अग्रता दिलाए । रियलको खराव डिफेन्सको फाइदा उठाउँदै मिकेल भेस्गाले दिएको पासमा सब्सिच्युट मिडफिल्डर एलेक्सले फार पोस्टमा सुन्दर गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इस्कोले सुवर्ण अवसर खेर फाल्दा रियल बराबरीबाट चुक्दा कोपा डेल रेबाटै बाहिरिन बाध्य बन्यो । यो सिजन लयमा रहेका करिम बेन्जेमाको अनुपस्थितिले पनि रियलको आक्रमण कमजोर देखिएको थियो ।

यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृंखलालाई तोडेको छ । बिल्वाओले रियललाई पछिल्लोपटक १५ जनवरी २०२१ को सुपरकपमा २–१ ले हराएको थियो । त्यसयताको चार खेलमा बिल्वाओले लगातार हार बेहोरेको थियो ।

कोपा डेल रेकै अर्काे क्वाटरफाइनलमा रियल बेटिसले रियल सोसिडाडलाई ४–० को भारी अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रियल बेटिसको जितमा जुआनमीले दुई तथा विलियम जोश र एइटर रुइवलले समान एक गोल गरे ।

यो सँगै कोपा डेल रेको सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि रायो भालेकानो र भ्यालेन्सियाले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ । सेमिफाइनलको ड्र केही समयपछि हुनेछ ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८०९:३४

गोलरक्षक नायक बन्दा इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगल र इजिप्ट भिड्ने !