रामोस फुटबलबाट सन्यास लिन बाध्य हुन सक्ने, यस्तो आयो डाक्टरको भनाई !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार डिफेन्डर सर्जियो रामोस सन्यास लिन बाध्य हुन सक्ने चर्चा शुरु भएको छ। फ्रान्सेली राष्ट्रिय टोलीका पूर्व डाक्टर जीन-मार्सेल फेरेटले रामोस चोटका कारण सन्यास लिन बाध्य हुन सक्ने बताएका हुन्।

एक मिडियासँग रामोसको चोटहरु बारे चर्चा गर्दै फेरेटले रामोस फुटबल छाड्न बाध्य हुन सक्ने बताए। लगातार दोहोरिरहेको पिडुल्लाको समस्याले रामोसलाई हदै सम्म सताउन सक्ने फेरेटको भनाई छ।

ले पेरिसियनसँग कुराकानी गर्नेक्रममा फेरेटले पिडुल्लाको मांसपेशीमा देखिएको समस्या बारम्बार दोहोरिनु राम्रो नरहेको बताए। उमेर ढल्कँदै गएको अवस्थामा चोटलाई सामान्य मान्न नहुने फेरेटको बुझाई छ।

“चोटहरुलाई बुझ्न धेरै गार्हो हुन्छ। चोट निको भएपछि पनि उमेरका कारण फर्किने गर्छन्। अझ मांसपेशीमा देखिने समस्याहरु त बारम्बार दोहोरिन्छन्। रामोसको हकमा मांसपेशी कसरी र कति बुढो भएको छ भन्ने कुरालाई ध्यानमा राखिनुपर्छ। रामोसले लगातार १९ सिजन उच्च स्तरमा खेले। त्यसले उनको मांसपेशीलाई बुढो बनाएन होला त ? उनको पिडुल्लाको मांसपेशीमा पनि त्यस्तै भएको हुन सक्छ।”,फेरेटले भने।

पिएसजी गएयता रामोसलाई शरीरले त्यति साथ दिरहेको छैन। पिएसजी गएपछि उनी कयौं महिना सम्म आराम गर्न बाध्य भए। ५ महिना भन्दा बढी आराम गरेपछि मैदान फर्किएका उनी केहि खेल खेलेपछि पुनः घाइते भएका छन्।

फ्रेन्च मिडियाहरुका अनुसार पुनः उनको खुट्टामा समस्या देखिएको छ। सो समस्याका कारण रामोसले च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्धको खेल समत गुमाउने सम्भावना बढेको छ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१८:३१

हालाण्डलाई लिएर लेवान्डोस्कीले के भने यस्तो ?