एजेन्सी – एक गोलले पछि परेको स्थितिमा फ्रान्सेली फरवार्ड ओलिभर जिरुउडले दुई गोल गरेपछि मिलान डर्वीमा एसी मिलानले पूनरागमन जित दर्ता गरेको छ ।
मिलान डर्वीमा एसी मिलानले शीर्ष स्थानमा रहेको इन्टरमाथि २–१ को पूनरागमन जित निकालेको हो । मिलानोमा शनिबार राति भएको खेलमा इभान पेरिससको गोलबाट इन्टरले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
खेलको ३८औं मिनेटमा इभान पेरिससको गोलबाट इन्टरले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । हकान चलहानोग्लुको कर्नरमा अनमार्क रहेका उनले सहजै गोल गर्न सफल भएका थिए । तर, इन्टरले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।
७५औं मिनेटमा जिरुउडले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ब्राहिम डियाजको प्रहार दुई डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएपछि जिरुउडले फाइनल टच दिएका थिए । ७८औं मिनेटमा जरुउडले गोल गर्दै मिलानलाई २–१ को अग्रता दिलाए । डाभिड कालाव्रियाको पासमा पेनाल्टी बक्समा बललाई नियन्त्रणमा लिदै टर्न गर्दै गरेको प्रहार इन्टरका गोलरक्षक समिर हान्डानोभिचलाई लाग्दै गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुग्यो । डेन्जिल डमफ्रेजमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले थियो हर्नान्डेजलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए ।
यो हारपछि पनि इन्टर २३ खेलबाट ५३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इन्टरलाई हराएको मिलान २४ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।