बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्डका लागि लियोनल मेस्सीले भोट नगरेको कारण अन्योलमा परेका छन्। पोलिस स्टार खेलाडीले गत महिना २०२१ को उत्कृष्ट प्रदर्शनपछि लगातार दोस्रो पटक उक्त अवार्ड जित्न सफल भए।
तर जब भोटको सूची जारी गरियो, तब एक चकित पार्ने खुलासा भयो कि मेस्सीले अवार्डका लागि आफ्नो शीर्ष तीन छनोटहरूमा लेवान्डोस्कीको नाम राखेनन्। गत वर्ष डिसेम्बरमा, आफ्नो सातौं बालोन डी’ओर उठाएपछि, पीएसजी स्टारले २०२० को प्रतिष्ठित गोल्डेन बलको हकदार बार्यन स्टार भएको बताएका थिए।
तर जब भोट दिने पालो आयो, ३४ वर्षिय खेलाडीले ‘द बेस्ट’ अवार्डका लागि पिएसजीका साथी नेयमार र किलियन एमबाप्पे र रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई छनोट गरेका छन्। यस बारेमा सोध्दा, लेवान्डोस्कीले मेस्सीको आफूलाई भोट नदिने निर्णयको बारेमा अनिश्चित महसुस गरे तर आफूले यसको सम्मान गर्ने बताएका छन्।
पोलिश आउटलेट पिल्का नोज्नासँग कुरा गर्दै, उनले भने: “मलाई यो बुझ्न गाह्रो छ। मैले मेस्सीलाई भोट दिएँ किनभने म उनले २०२१ र पक्कै पनि पहिले गरेको कामको कदर गर्छु। मेस्सीले बालोन डी’ओरमा मलाई भोट दिए, र मलाई थाहा छैन किन उनको दृष्टिकोण पछि किन बदलियो। तर, मलाई कुनै पछुतो छैन, कुनै गुनासो छैन, मैले स्वीकार गरेँ, उनले आफ्नो निर्णय गरे।”
मेस्सीलाई चार मतले हराएर अवार्ड जित्ने लेवान्डोस्कीले चेल्सीका जोर्गिन्होलाई आफ्नो शीर्ष रोजाइमा राखेका थिए भने मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई क्रमशः दोस्रो र तेस्रो स्थानमा राखेका थिए। त्यस्तै, म्यानचेस्टर युनाइटेड स्टारले भने लेवान्डोस्की, एनगोलो कान्टे र जोर्गिन्होलाई भोट दिएका थिए।