एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको उच्च प्रदर्शनमा फ्रान्सेली लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गरेको छ ।
पिएसजीले लिललाई उसकै मैदानमा ५–१ को भारी अन्तरले पराजित गरेको हो । पिएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले दुई तथा प्रेसनेल किमपेम्वे, लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान एक गोल गरे । घरेलु टोलीका स्भेन बोटमानले एक गोल फर्काए ।
भिलेुनएभमा आइतबार राति भएको खेलको १०औं मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा स्भेन बोटमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
३२औं मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । ३८औं मिनेटमा मेस्सीले नै गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए । लिग वानमा पिएसजीका लागि यो मेस्सीको दोस्रो गोल हो । उनले समग्रमा १८ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।
५१औं मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा केलियन एमबाप्पेले मार्काे भेराट्टीको पासमा गोल गर्दै पिएसजीलाई ५–१ को सानदार जित दिलाए ।
यो सानदार जितसँगै पिएसजीले शीर्षस्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ । पराजित लिल ३२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।