एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले लियोनेल मेस्सी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेकोमा कुनै सन्देह नरहेको बताएका छन्। फ्रेन्च लिग वानमा लिल विरुद्धको खेलमा जित हाँसिल गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा पोचेटिनोले मेस्सी विश्वको उत्कृष्ट खेलाडी रहेकोमा कुनै शंका नरहेको बताएका हुन्।
“मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन्। यो कुरामा मलाई कहिले पनि शंका थिएन।”,पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा पोचेटिनोले भने। त्यसक्रममा पोचेटिनोले मेस्सीलाई घुलमिल हुन समय लाग्ने बताउन भने छुटाएनन्।
पोचेटिनोले भने,”सबैलाई जस्तै मेस्सीलाई पनि घुलमिल हुन समय लाग्छ। आफ्नो उत्कृष्ट शारीरिक आकार पुन: प्राप्त गर्न मेस्सीलाई पनि समय लाग्छ। उनी कोरोनाका कारण एक महिना त मैदान बाहिर रहेका थिए। लियोले यस्तो सहभागिता र प्रतिबद्धता देखाउनु महत्वपूर्ण हो।”
मेस्सीको उत्कृष्ट प्रदर्शन
आइतबार राति पिएसजीले लिलको सामना गर्दा मेस्सीले धेरै नै उत्कृष्ट प्रदर्शन गरेका थिए। मेस्सीले लिल विरुद्ध एक गोल मात्र नभई एक असिस्ट पनि दिएका थिए। मेस्सीले खेलको ३८औं मिनेटमा गोल गरेका थिए भने ३२औं मिनेटमा मेस्सीले किमपेम्वेलाई असिस्ट दिएका थिए। आइतबार मेस्सीले गरेको गोल लिग वानको दोस्रो गोल हो।