एजेन्सी – सिजनको एक समय क्याटलान क्लब बार्सिलोना धेरै नै नाजुक अवस्थामा थियो। लगातारको हार र बराबरीले बार्सिलोनालाई च्याम्पियन्स लिग मात्र नभई युरोपा लिगको छनौट देखि समेत टाढा राखेको थियो। बार्सिलोना त्यसले लालिगा तालिकाको शिर्ष १० मा बल्ल-तल्ल स्थान बनाइरहेको थियो।
निरन्तर कम्जोर प्रदर्शन पछि बार्सिलोनाले क्लबका तत्कालिन प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर जाभी हर्नान्देजलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गर्यो। त्यसयता जाभी बार्सिलोनालाई लगातार सुधार तर्फ डोहोर्याइरहेका छन्।
जाभी आएयता बार्सिलोनामा धेरै परिवर्तन भएका छन्। जाभीले विभिन्न खेलाडीहरु क्लबमा भित्र्याएका छन्। जनवरी ट्रान्सफर विन्डोमा पनि बार्सिलोना अलि बढी सक्रिय रह्यो। सन् २०२१ को अन्त्यमा फेरान टोरेसलाई भित्र्याएको बार्सिलोनाले त्यसपछि एडामा ट्राओरेलाई भित्र्याएको थियो।
त्यस्तै जनवरी ट्रान्सफर विन्डोको अन्तिम समयमा बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनलबाट पिएरे एमरिक औवामियाङलाई पनि भित्र्यायो। यसरी जनवरी ट्रान्सफर विन्डोमा तीन खेलाडी भित्र्याएको क्लबको आक्रमणपङ्तीलाई बार्सिलोनाले थप बलियो बनायो।
बार्सिलोनाले क्लबमा गरेका परिवर्तनहरुले नतिजा दिन थालिसकेका छन्। आइतबार राति मात्रै बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकाल्यो। सो खेलमा बार्सिलोनाका नयाँ खेलाडीहरुले समेत प्रभावशाली प्रदर्शन गरेका थिए।
आइतबारको जितसँगै बार्सिलोना अन्ततः च्याम्पियन्स लिग स्तरमा फिर्ता भएको छ। बार्सिलोना एट्लेटिकोलाई पछि पार्दै शिर्ष चारमा फिर्ता भएको हो। समान २२ खेल खेलेको एट्लेटिको भन्दा बार्सिलोना २ अंकले अगाडी छ। बार्सिलोनाको ३८ अंक छ भने एट्लेटिकोको ३६ अंक छ।
तेस्रो स्थानमा रहेको रियल बेटिस, दोस्रो स्थानमा रहेको सेभिया र शिर्ष स्थानको रियल म्याड्रिड तीनै क्लबले बार्सिलोना भन्दा एक खेल बढी खेलेका छन्। रियल बेटिस बार्सिलोना भन्दा मात्रै दुई अंकले अगाडी छ भने सेभिया ९ अंकले अगाडी छ। त्यस्तै रियल म्याड्रिड भने १५ अंकले अगाडी छ।