अन्ततः बेल फर्किने भए टोटनह्याम !

एजेन्सी – ग्यारेथ बेल अहिले स्पेनिस महारथी रियल म्याड्रिडमा अन्तिम सिजन बिताइरहेका छन्। सन् २०१३ मा रियल म्याड्रिड आएका उनको सम्झौता यहि वर्षको जुनमा सकिँदैछ। रियल म्याड्रिड आएर उनले क्लब फुटबलमा जित्न सम्भव लगभग सबै उपाधि जिते।

रियल म्याड्रिडका शुरुवाती वर्षहरुमा बेलले धेरै नै राम्रो प्रदर्शन गरेका थिए। लगातार उच्च प्रदर्शन गरेपनि पछिल्ला केहि वर्ष देखि उनलाई शरीरले साथ दिन छाडेको छ। यस बीचमा उनी कयौं पटक चोटिल भइसकेका छन्।

लगातार चोटिल हुँदा रियलमा उनले निरन्तर मौका पनि पाउन छाडेका छन्। रियलमा कम मौका पाउन थालेपछि उनी प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर लोनमा पठाइए। त्यहाँ ठिक-ठाक प्रदर्शन गरेपनि उनी नियमित टोटनह्यामको टोलीमा पर्न सकेनन्। टोटनह्यामबाट फर्किएपछि बेलले रियलमा पहिला भन्दा बढी मौका पाउने धेरैको अनुमान थियो। तर नयाँ प्रशिक्षकको रुपमा आएका कार्लो एन्सेलोटीको रोजाईमा पनि बेल पर्न सकेनन्।

एक हिसाबले भन्ने हो भने बेल रियलका लागि ठूलो टाउको दुखाईको विषय बनिरहेका छन्। बेल अहिले रियलमा झन्डै ७ लाख डलर साप्ताहिक पारिश्रमिक पाइरहेका छन्। खासै काम नआइरहेका बेललाई त्यति ठूलो पारिश्रमिक तिर्न पर्दा रियललाई धेरै घाटा लागिरहेको छ।

प्रिमियर लिगसँग अग्रिम सहमति

यहि सिजनको अन्त्यमा सम्झौता सकिने हुँदा बेल विश्वक जुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्नको लागि खुला भइसकेका छन्। हालसालै बाहिरिएको एक खबरका अनुसार बेलले आफ्नो पूर्व क्लब टोटनह्यामसँग अग्रिम सम्झौता गरिसकेका छन्। बेलले आउने सिजन फ्री ट्रान्सफरमा टोटनह्याम जान पाउनेछन्।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१९:१५

एन्सेलोटीलाई खासै मन परेनन् यी खेलाडी, छिट्टै लखेट्ने तयारी !