एजेन्सी – साडियो मानेले आफ्ना एजेन्टहरूलाई नयाँ क्लबको खोजिमा जुट्न आग्रह गरेका छन्। विभिन्न खेल मिडियाहरुले गोप्य श्रोतको हवाला दिँदै मानेले आफ्ना एजेन्टहरुलाई नयाँ क्लबको खोजि गर्न आग्रह गरेका हुन्।
केहि दिन अगाडी मात्रै सेनेगललाई अफ्रिकन च्याम्पियन बनाएका माने आउने समर ट्रान्सफर विन्डोमा लिभरपुल छाड्ने मनस्थितिमा पुगेका छन्। मानेले प्रिमियर लिग छाडेपछि लालिगा जाने मन बनाएको बताइन्छ।
सेनेगलका फरवार्ड माने सन् २०१६ मा साउथह्याम्प्टनबाट लिभरपुलमा आएका थिए। त्यसयता मानेले लिभरपुलबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, क्लब विश्वकप लगायत उपाधि जितिसकेका छन्। एक हिसाबले भन्नु पर्दा मानेको लिभरपुल बसाई धेरै नै सफल रह्यो।
सफल लिभरपुल बसाई पनि उनी अब सम्भवतः नयाँ चुनौतीका लागि तयार भएका छन्। मानेले आफ्ना एजेन्टहरुलाई बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबहरुबाट प्रस्ताव आएको खण्डमा त्यस बारे कुराकानी अगाडी बढाउन निर्देशक दिसकेका छन्।
मानेको सम्झौता सन् २०२३ मा सकिँदैछ। लिभरपुलमा नयाँ खेलाडीहरुको आगमनले उनको चुनौती बढेको छ। मानेको उमेरलाई मध्यनजर गर्दै लिभरपुलले उनको उत्तराधिकारीको निर्माणको योजना शुरु गरिसकेको खेल मिडियाहरु बताउँछन्। यस्तोमा बाँकी रहेको खेल जीवन लालिगामा बिताउने मानेको मन रहेको छ।
रियल म्याड्रिडको चाहना
जिनेदिन जिदान रियलको प्रशिक्षक हुँदा रियलले माने माथि चासो राखेको थियो। सन् २०१८ मै रियलले मानेलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो। तर सो बेला लिभरपुलले रियलको प्रस्ताव अस्विकार गरेको थियो।
अहिले पनि रियलले मानेलाई अनुबन्ध गर्न सक्ने ट्रान्सफर मार्केटका जानकारीहरु बताउँछन्। त्यस्तै माने माथि बार्सिलोनाको पनि चासो छ। तर मानेलाई अनुबन्ध गर्न बार्सिलोनालाई आर्थिक अवस्थाले रोक्नेछ।