एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका ब्राजिलियन भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई दुई खेलको प्रतिबन्ध सुनाइएको छ । स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले राइट ब्याक आल्भेसलाई २ खेलको प्रतिबन्ध सुनाएको हो ।
आल्भेसले एट्लेटिको म्याड्रिडमाथि ४–२ को जित निकालेको खेलमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सुरुवाती गोलमा असिस्ट दिएका आल्भेसले त्यसपछि गोल गरेका थिए । तर, उनी नायकबाट खलनायक बनेका थिए । यान्निक कारास्कोमाथि अनावश्यक फउल गरेपछि ६९औं मिनेटमा आल्भेस सिधै रातो खाँदै मैदानबाट बाहिरिएका थिए ।
उनले रातो कार्डका कारण एक खेल स्वत गुमाउने थियो । आरएफइएफले उनलाई थप एक खेलको प्रतिबन्ध सुनाएको हो । दुई खेलको प्रतिबन्धसँगै आल्भेसले क्याटलान डर्वीको स्पान्योल र भ्यालेन्सियाविरुद्धको खेल गुमाउनेछन् ।
आल्भेस बार्सिलोनाको युरोपा टोलीमा समावेश नभएका कारण नेपोलीसँगको दुई लेगको खेलमा पनि उपलब्ध हुनेछैनन् । यसको अर्थ उनी चार खेलपछि मात्रै बार्सिलोनाको टोलीमा समावेश हुनेछ ।
उनी २७ फेब्रुअरीमा एथलेटिको बिल्वाओविरुद्धको खेलमा उपलब्ध हुनेछ । यस्तै आरएफइएफले ओस्कार हर्नान्डेजलाई पनि दुई खेलको प्रतिबन्ध सुनाएको छ ।