एजेन्सी – स्टार फरवार्डद्धय साडियो मानेको अनुपस्थितिमा पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।
लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । एनफिल्डमा बिहीबार राति भएको खेलमा जोटाले पहिलो र दोस्रो हाफमै गोल गर्न सफल भएका थिए ।
खेलको ३४औं मिनेटमा जोटाको गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । त्यसपछि निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा जोटाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।
उनले जोइल मटिपको पासलाई सदुपयोग गरेका थिए । माने र सलाह अफ्रिका कप अफ नेसन्सका कारण टोलीमा रहेका छैनन् । उनीहरु अर्काे खेलबाट टोलीमा जोडिनेछन् ।
जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ९ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५१ अंक पुगेको छ । एक खेल बढी खेलेको सिटीको ६० अंक छ । पराजित लेस्टर सिटी २६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
अर्काे खेलमा आर्सनलले वल्भ्सलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । आर्सनलको जितमा गाब्रियलले २५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यो जितसँगै आर्सनल २२ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित वल्भ्स ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।