बार्सिलोनाको पनि थियो डियाज भित्र्याउने चाहना, तर …

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले जनवरी ट्रान्सफर विन्डोमा लुइस डियाजलाई भित्र्यायो। ट्रान्सफर विन्डो बन्द हुने अवस्थामा पनि लिभरपुलले फास्ट ट्रयाकबाट डियाजलाई भित्र्याउन सफल भएको थियो। लिभरपुलले त्यसक्रममा धेरै क्लबहरुलाई पछि पारेको थियो।

डियाज पहिला देखि नै धेरै क्लबको नजरमा थिए। पोर्टोका लागि उत्कृष्ट प्रदर्शन गरिरहेकै कारण उनलाई प्रिमियर लिग क्लबहरु मात्र नभई युरोपका धेरै ठूला क्लबहरुले पछ्याइरहेका थिए। लिभरपुल सँग-सँगै टोटेनह्याम र रोमा पनि डियाजका लागि अगाडी आएका थिए।

स्पेनिस मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने डियाज माथि क्याटलान क्लब बार्सिलोनाको पनि नजर रहेको थियो। बार्सिलोना पनि डियाजलाई भित्र्याउन चाहन्थ्यो। बार्सिलोना गएको केहि समय देखि डियाजलाई नजर लगाइरहेको थियो भन्ने स्पेनिस मिडियाहरुको दावी छ।

स्पेनिस मिडिया एल पेसका अनुसार पछिल्लो केहि महिना देखि डियाज माथि बार्सिलोनाको नजर थियो। पहिला एडामा ट्राओरे र पिएरे एमरिक औवामियाङ सँगै डियाजलाई पनि भित्र्याउने बार्सिलोनाको योजना रहेको एल पेसले जनाएको छ।

डेम्बेले बिक्री नहुँदा समस्या

बार्सिलोनाले फ्रेन्च विंगर ओस्मान डेम्बेलेलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको थियो। तर डेम्बेलेले कुनै पनि क्लबमा जान मानेनन्। जसकारण बार्सिलोना आर्थिक रुपमा डियाजलाई भित्र्याउन असमर्थ रह्यो।

“बार्सिलोना डियाजलाई भित्र्याउने योजनामा डटेर लागेको थियो। तर डेम्बेलेलाई बिक्री गर्न नसक्दा बार्सिलोनाले आर्थिक रुपले डियाजलाई आधिकारिक प्रस्ताव राख्न समेत सकेन।”,एल पेसले दावी गर्दै भनेको छ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१२:३२

सिटीलाई लिभरपुलले भेट्टाउन सक्ला ? यसो भन्छन् रोबर्टसन !