एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति रेनेसको सामना गर्दैछ। जारी सिजनमा मात्रै एक पटक पराजित भएको पिएसजीले रेनेसको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा पिएसजीको घरेलु मैदानमा हुनेछ।
आज हुने खेलमा पिएसजी लगातार चौंथो जित निकाल्ने दाउमा हुनेछ। फ्रेन्च लिग वानमा पिएसजीले पछिल्ला तीन खेलमा जित निकालिसकेको छ। पछिल्लो खेलमा पिएसजीले लिललाई ५-१ को गोल अन्तरले पराजित गरेको थियो। सो खेलमा लियोनेल मेस्सीले १ गोल गर्दै १ असिस्ट पनि दिएका थिए।
मौरिसियो पोचेटिनोले उक्त खेलमा मेस्सीलाई सेन्टरमा खेलाएका थिए। मेस्सीको स्थान परिवर्तन हुने बितिकै उनको खेलमा उल्लेख्य सुधार आएको थियो।
आज राति हुने खेलमा मेस्सी खेल्छन् ?
कोरोनाका कारण झन्डै एक महिना आराम गरेपछि मेस्सी पुनः मैदान फर्किसकेका छन्। मेस्सी रेनेस विरुद्धको खेलमा पनि मैदानमा उत्रिनेछन्। पिएसजीले खेल अगाडी सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा मेस्सीको पनि नाम छ। मेस्सी लयमा फर्किसकेका हुन् कि होइनन् भन्ने कुरा आजको खेलले देखाउनेछ।
पिएसजी लिग वानको शिर्ष स्थानमा छ भने रेनेस पाँचौं स्थानमा रहेको छ। सिजनका २३ खेल खेल्दा पिएसजीले १७ जित र १ हार सहित ५६ अंक बनाउँदा रेनेसले ११ जित र ८ हार सहित ३७ अंक बनाएको छ।