फागुन ६ गते सम्म कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

• ज्योतिषाचार्य दामोदरनाथ लोहनी

•मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सोमबारको दिन पेटमा गडबडी हुनेछ र मङ्गलबारसम्म पनि काम गर्नमा द्विविधा पर्ला । साताका बाँकी दिन भने राम्रा खालका छन् । पढाइमा प्रगति होला भने व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । दौडधूप बढी नै पर्ला । परिवारबाट मद्दत नै मिल्नेछ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताका अधिकांश दिन तपाईंको पक्षमा छन् । आर्थिक लाभ मनग्गे हुनुका साथै गरेको काममा पनि सफलता पाइएला । खोजेको जति सहयोग परिवारले नदिए पनि तपाईंमा रहेको आत्मबल टुट्ने छैन । व्यापारसम्बन्धी कामले मनग्गे लाभ गराउला ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । बाधा क्रमशः घटेर जानेछन् । सुरुका दिनमा नै भोजभतेर पर्नुका साथै इष्टमित्रसँग भेटघाट भइरहला । जागिरतिर आएको बाधासमेत क्रमशः घट्ने स्थितिमा छ । वाणीको चतुर्याइले धेरै मानिसलाई प्रभावित पार्नु हुनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

शनिबार र आइतबार खर्च अति नै बढ्नेछ । त्यसपछिका दिन भने मध्यम खालका छन् । स्वास्थ्यको स्थिति सामान्य मात्र रहला । कूटनीतिक प्रतिभा कम भए पनि नेतृत्व शक्ति भने दरो छ । सूर्यको नित्य दर्शन गर्नाले सामुन्ने आएका बाधा हटाउन सकिनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यात्राको सम्भावना प्रबल रूपमा देखा पर्छ र लाभकारक यात्रा नै हुनेछ । मित्रको बढी भर नपर्नुहोस् । पारिवारिक सुखसमेत हाललाई मध्यम रूपमा देखा पर्छ । व्यावसायिक क्षेत्रमा लगानी बढाएमा कुनै हानि हुने छैन । नोकरीबाट भने बढी आशा नगर्नुहोस् ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । राम्रो काम गर्ने भावनाको वृद्धि होला भने गरेका काम सफलसमेत हुनेछन् । पढाइ एवं लेखाइमा समय मध्यम खालको छ । निर्णय गर्न सक्ने खुबी कम हुनाले व्यापारमा घाटासमेत हुनसक्छ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

खर्चमा त्यति नियन्त्रण आउला जस्तो छैन तर आम्दानी राम्रोसँग हुनाले जस्तोसुकै समस्याको पनि सामना गरिनेछ । सहयोग दिनेभन्दा खर्च बढी गराउने मित्र धेरै छन् । व्यावसायिक लाभ साह्रै सीमित मात्रामा देखा पर्छ । नारायणको दर्शन र उपासनाले भने धेरै मद्दत दिनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

अलिकति खर्च बढे पनि गरेको काम बन्नाले मन प्रसन्न होला । काम गर्ने उत्साह घट्ने छैन । कल्याणकारी काममा समेत ध्यान जानेछ । सानातिना विवाद र बाधालाई पन्छाउन सक्ने शक्ति तपाईंमा जति भए पनि विद्यमान छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मेहनत प्रशस्त पर्न जाला । परिश्रमअनुसारको फल त मिल्ने छैन तर निराश हुनुपर्ने बेला पनि हाल देखिन्न । परिवार एवं मित्रको सहयोगले सामुन्ने आएका समस्यालाई टार्न सकिनेछ । व्यावसायिक क्षेत्रबाट गतिलै लाभ मिल्ला । शिवको दर्शन गर्नुहोस् ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

त्यति राम्रो साता होइन । बेकारको वादविवाद सुरुमा पर्ला भने ́न् ́ट पनि प्रशस्त आउने छन् । खर्चलाई नियन्त्रण गर्न गाह्रो छ । सोचेभन्दा बढी नै अपव्यय हुन जानाले मन खिन्न होला । पढाइको क्षेत्रमा भने हाल राम्रो स्थिति छ, त्यसैले धेरै समय त्यतैतिर खर्चिनुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मनमा डर लागिरहला तर बिग्रने नै खालको समय छैन । मित्रको सहयोगले धेरै समस्यालाई पार लगाउन सक्नुहुनेछ । जागिरतिरबाट कम र व्यापारको कामबाट बढी लाभ होला । आन्तरिकभन्दा बाह्य व्यापारमा फाइदा छ । शिक्षातिर मध्यम स्थिति छ ।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सुरुका दिनमा पेटमा गडबडी भएर काम गर्न मन लाग्ने छैन । सोमबार बेलुकीदेखि मात्र स्थितिमा सुधार आउला । व्यवसायको काममा व्यस्त हुनुपर्नेछ । पारिवारिक मद्दत भने हाल मध्यम रूपको मात्र छ । देवीको उपासनाले बाधा घट्न सक्छन्।

प्रकाशित : शनिबार, माघ २९, २०७८१०:४५

जन्मकुण्डलीमा ग्रहको स्थिति शुभ भए यत्तिकै फिदा हुन्छन् युवती