एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्ड यतिबेला युरोपका धेरै क्लबको ध्यान तानिरहेका छन्। बोरुसिया डर्टमण्डमा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्। त्यसले युरोपमा कहलिएका सबै जस्तो क्लबको ध्यान उनी तर्फ केन्द्रित गराएको छ। ठूला भन्दा ठूला क्लब हालाण्डलाई आफ्नो क्लबमा चाहन्छन्।
स्पेनिस महारथी रियल म्याड्रिड पनि हालाण्डलाई भित्र्याउन चाहन्छ। हालाण्डलाई भित्र्याउन रियलले भित्र-भित्रै तयारी गरिरहेको बताइन्छ। आउने ट्रान्सफर विन्डोमा डर्टमण्डले हालाण्डलाई बिक्री गर्ने पक्का जस्तै छ। यस्तोमा रियल म्याड्रिडले हालाण्डलाई किन्ने प्रयास गर्नेछ।
हालाण्डको ट्रान्सफरले रियल म्याड्रिड भित्रकै खेलाडीहरुको भविष्यलाई पनि असर गर्नेछ। सार्वजनिक एक रिपोर्टका अनुसार हालाण्डको रियल म्याड्रिड ट्रान्सफर भएको खण्डमा सबै भन्दा बढी असर करिम बेन्जेमाको भविष्यलाई गर्नेछ।
हालाण्ड रियल पुगे बेन्जेमा अन्यत्र लाग्ने पक्षमा रहने स्पेनिस मिडिया एल नासिनोलले जनाएको छ। हालाण्ड आएको खण्डमा बेन्जेमा रियल छाड्ने कुरा स्पष्ट रहेको एल नासिनोलको दावी छ। बेन्जेमा अपेक्षा गरिएभन्दा छिटो रियलबाट आउट हुन सक्ने एल नासिनोलले रिपोर्टमा उल्लेख गरेको छ।
सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेपछि बेन्जेमाले नै रियलको आक्रमण सम्हालिरहेका छन्। रोनाल्डोले छाडेपछि रियललाई एक लालिगा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाइसकेका छन् भने अर्को लालिगा उपाधि दिलाउने प्रयास गरिरहेका छन्।
यति महत्वपूर्ण खेलाडीलाई रियलले पक्कै पनि गुमाउन चाहने छैन। तर हालाण्डको आगमनले भने बेन्जेमालाई बहिर्गमनको बाटो तर्फ डोर्याउन सक्छ।