एमसीसी अनुमोदन नभए झनै ठूलो संकट आउने, अमेरिकाले अनुदान कटौती गर्ने !

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालबाट अनुमोदन नभए झनै संकटको सामना बेहोर्नुपर्ने भएको छ । एमसीसीको विषयमा माओवादी केन्द्रले दुई थरी कुरा राख्दा जटिल मोडमा पुगेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

अमेरिकालाई आउँदो फागुन १६ भित्र एमसीसी पास गर्ने प्रतिबद्धता पत्र पठाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर संशोधन नभई पास हुँदैन भन्ने तर्क राख्दा एमसीसी अनुमोदनमा ढिलाइ हुन पुगेको हो ।

एमसीसीको संशोधन विषयमा एमसीसी उपाध्यक्ष फातिमा सुमारले केही कुरा पनि संशोधन नहुने प्रस्ट पारिसकेकी छन् । एमसीसीको विषयमा उपाध्यक्ष सुमारले संशोधन हुन नसक्ने धारणा राखिसकेपछि पनि माओवादीले संशोधन गर्नुपर्ने अड्चन राखेपछि संसद्मा सभामुखले रोकेका छन् ।

दुई वर्षअघिदेखि एमसीसी संसद्मा टेबल भए तापनि सभामुख अग्नि सापकोटाले रोकेर राख्दा झनै जटिल हुने देखिएको छ । अमेरिकालाई एमसीसी अनुमोदन गर्छु भनी प्रतिबद्धता जनाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुखलाई प्रस्ताव रोक्न आग्रह गरेकै कारण अघि बढ्न नसकेको एक नेताले बताए ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले २८ माघमा नेपालका राजनीतिक दलका नेताहरूलाई एमसीसीको विषयमा प्रस्ट धारणा सार्वजनिक गर्न भनिसकेका छन् । साथै उनले एमसीसी परियोजना अनुमोदन नभए चीनको हस्तक्षेप भएका रूपमा लिने बताएसँगै नेपाल संकटको अवस्थामा पुगेको हो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समयसीमा तोकरै एमसीसी अनुमोदन हुने हो या होइन भनी प्रमुख राजनीतिक दलका नेताहरूसँग धारणा मागिसकेका छन् । एकातर्फ अमेरिकाले नेपालका नेताहरूसँग धारणा मागेको छ भने अर्कोतर्फ अनुमोदन नभए चीनले पारित गर्न नदिएको भन्ने अर्थमा लिने प्रस्ट धारणा राखिसकेको छ । यही अवस्थामा एमसीसी पास नहुने अवस्था आए अमेरिकाले नेपाललाई दिँदै आएको अन्य सहयोगको अनुदान कटौती गर्न सक्नेछ ।

एमसीसी परियोजना नेपालमा ल्याउन सन् २०१७ अघिदेखि नै माओवादी नेतृत्वको पुष्पकमल दाहालको सरकार, बाबुराम भट्टराईको सरकार र कांग्रेस नेतृत्वको शेरबहादुर देउवाको पहल गरेका थिए । यिनै नेतृत्व हाल सरकारमा सामेल छन् । यता एमालेले संसद्मा टेबल भएको एमसीसी सभामुखले अगाडि बढाउनुपर्ने प्रस्ट धारणा राखिसकेको छ । तर, सभामुख एमसीसी कुनै पनि हालतमा एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छैनन् ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८०९:४९

४९ वर्षका सांसदले १८ वर्षकी किशोरीसँग विवाह गरेपछि…