एजेन्सी – शिर्षस्थानको रियल म्याड्रिड लालिगामा अंक बाड्न बाध्य भएको छ। शनिबार राति भएको खेलमा भिल्लारियलसँग बराबरीमा रोकिएसँगै रियल अंक बाड्न बाध्य भएको हो। भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा दुवै टोली गोल गर्नबाट चुके।
घरेलु टोली विरुद्ध बलमा राम्रो पकड बनाएर पनि रियलले धेरै अवसरहरुलाई सदुपयोग गर्न सकेन। बलमा रियलको ५७ प्रतिशत पकड थियो। खेलभर रियलको तर्फबाट कुल १७ प्रहार भए। जसमा ६ प्रहार टार्गेटमा थिए। त्यस्तै भिल्लारियलको तर्फबाट भने ९ प्रहार भए। जसमा दुई मात्रै प्रहार टार्गेटमा थिए।
दुवै टोलीले गोलका धेरै सुवर्ण अवसहरुलाई सदुपयोग गर्न सकेनन्। खेलको अन्तिम समयमा लुका जोभिकको प्रहार क्रसबारमा लागेर फर्कदा र रिवाउन्डका नाचो फर्नान्डेसको प्रहार सर्जी औरिएरले गोललाइनबाट बचाउँदा रियल अंक बाड्न बाध्य भयो। खेलभर करिम बेन्जेमाको अभाव स्पष्टसँग देखिएको थियो।
भिल्लारियलसँग अंक बाँडेपनि रियल अझै लालिगाको शिर्ष स्थानमा छ। सिजनका २४ खेल खेल्दा रियलले १६ जित निकालेको छ भने मात्रै २ खेलमा हार बेहोरेको छ। रियलको ५४ अंक छ। रियल दोस्रो स्थानमा रहेको सेभिया भन्दा ४ अंकले अगाडी छ।
त्यस्तै भिल्लारियल भने लालिगाको छैठौं स्थानमा रहेको छ। सिजनका २४ खेल खेल्दा उसले ९ जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ। भिल्लारियलको ३६ अंक छ।