एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनो पिएसजीमा अन्तिम सिजन बिताइरहेका छन्। पोचेटिनोले ढिलोमा यस सिजनको अन्त्यमा पिएसजी छाड्ने लगभग पक्का जस्तै छ।
पोचेटिनो पिएसजीमा यस सिजनको अन्त्य सम्मका लागि मात्र बस्ने बताइन्छ। त्यसपछि उनी नयाँ चुनौतीका लागि तयार हुनेछन्। पछिल्लो केहि समय देखि पोचेटिनो पिएसजी छाडेपछि प्रिमियर लिग फर्किने चर्चा छ। पोचेटिनो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने धेरैको अनुमान छ।
युनाइटेडको योजना
हालको अवस्थामा युनाइटेडको जिम्मेवारी राल्फ रङ्गनिकले सम्हालिरहेका छन्। तर उनी लामो समयका लागि प्रशिक्षकको रुपमा नियुक्त भएका होइनन्। उनले यस सिजनको अन्त्य सम्मका लागि मात्रै युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। त्यसपछि उनी व्यवस्थापकीय भूमिका निर्वाह गर्न तर्फ लाग्नेछन्। त्यस सम्बन्धमा पहिला नै सहमति भइसकेको छ।
रङ्गनिक व्यवस्थापकीय भूमिकामा व्यस्त भएपछि युनाइटेडलाई नयाँ प्रशिक्षक चाहिनेछ। यस्तोमा युनाइटेडले पोचेटिनोलाई क्लबको जिम्मेवारी दिन सक्नेछ। यस सम्बन्धमा युनाइटेड र पोचेटिनो बीच सामान्य कुराकानी समेत भइसकेको बताइन्छ।
केन युनाइटेडमा
पोचेटिनो युनाइटेड गएको खण्डमा उनको प्राथमिकता टोटनह्याम हटस्परका स्ट्राइकर ह्यारी केनलाई ल्याउनेमा हुनेछ। केन पोचेटिनोले धेरै मन पराएका खेलाडी हुन्। टोटनह्याम च्याम्पियन्स लिगको फाइनल पुग्दा केन र पोचेटिनो दुवै टोटनह्याममा थिए।