पूर्व इटालियन फुटबलर भन्छन् – “हेर्दै जानुस् इन्टरले लिभरपुललाई हराउँछ”

एजेन्सी – पूर्व इटालियन फुटबलर पाउलो डि क्यानियोले यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा इन्टर मिलानले लिभरपुललाई हराउन सक्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा क्यानियोले लिभरपुललाई हराउन सक्ने आधार इन्टरसँग रहेको बताएका हुन्।

क्यानियोका अनुसार इन्टरले लिभरपुलका सामान्य गल्तिहरुको फाइदा उठाउन सक्छ। उनले भर्जिल भान डाइकका कमजोरीहरुको पनि फाइदा उठाउन इन्टरले सक्ने बताए। त्यसक्रममा उनले लिभरपुलले आफ्नो गल्तिका कारण गोलहरु बेहोरिरहेको कुरालाई पनि उल्लेख गरे। गत सिजन घाइते भएर यस सिजन फर्किएका भान डाइक पहिला जस्तो नरहेको क्यानियोको भनाई छ।

“सिजनको यस चरणमा लिभरपुलमा केही साना दरारहरू देखिएका छन्। ती दरारहरुको इन्टरले सदुपयोग गर्न सक्छ। दुई वर्ष अघिको लिभरपुलका भर्जिल भ्यान डाइक जुन स्तरमा थिए अहिले त्यो स्तरमा छैनन्। चोटबाट फर्किएदेखि उनी पहिला जस्तो छैनन्। यसको फाइदा इन्टरले उठाउन सक्छ।”,क्यानियोले भने।

त्यस्तै उनले प्रिमियर लिग क्लबहरु अक्टोबर, नोभेम्बरमा धेरै राम्रो खेल्ने र त्यसपछि कम्जोर हुँदै जाने विश्लेषण सुनाए। इन्टरसँग अझै पनि अन्तर्राष्ट्रिय स्तर रहेको उनको भनाई छ। त्यसक्रममा उनले च्याम्पियन्स लिगको समूहचरणमा इन्टर रियल म्याड्रिडसँग मात्र पराजित भएको तथ्यलाई प्रस्तुत गर्न पनि चुकेनन्।

उनले भने,”यदि यो अक्टोबर वा नोभेम्बरमा भएको भए इङ्लिस क्लबहरुले धेरै उच्च प्रदर्शन गरिरहेका हुन्थे। तर अहिले त्यस्तै प्रदर्शन गर्छन् जस्तो मलाई लाग्दैन। इन्टरसँग यो सिजन अझै पनि अन्तर्राष्ट्रिय स्तर छ। उनीहरूले रियल म्याड्रिडसँग मात्र क्लिनिकल फिनिशिङको अभावमा हारेका थिए।”

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१९:३५

बार्सिलोना बल्लतल्ल हारबाट जोगियो, पुनः शिर्ष चारमा प्रवेश !