एजेन्सी – तनावपूर्ण बनेको खेलको इन्ज्युरी समयमा सब्सिच्युट फरवार्ड लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोना हारबाट जोगिएको छ । ‘क्याटलान डर्वी’ मा बार्सिलोनाले स्पान्योलसँग २–२ गोलको बराबरी बराबरी खेलेको हो ।
तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका सेर्गी डार्डेर र राहुल डि थोमसले गोल गरे । बार्सिलोनाका लुक डि जोङसँगै पेड्रीले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै पेड्रीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा सेर्डी डार्डेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले राहुल डि थोमसको पासलाई सदुपयोग गरेका थिए ।
५६औं मिनेटमा पाब्लो गाभीले गोल गरेपनि अफसाइड ठहरिदा भिएआरबाट अफसाइड ठहरिदा मान्यता पाएन । ६४औं मिनेटमा राहुल डि थोमसले सेर्गीको पासमा गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले पछि परेको थियो ।
खेलको अन्त्यतिर तनावपूर्ण स्थिति सिर्जना हुँदा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा विवादमा उत्रिएका बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । ८८औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका लुकले एडमा ट्राओेरेको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि मनु मोर्लानेस सिधै रातो कार्ड खाँदै मैद्यानबाट बाहिरिएपछि स्पान्योल १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।
यो बराबरीसँगै बार्सिलोना २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ३९ अंक नै रहेपनि एट्लेटिको म्याड्रिड गोल अन्तरमा पछि छ । पराजित स्पान्योल २४ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।