एजेन्सी – धेरै लामो समय पछि प्रिमियर लिग क्लब लिभरपुलका सबै खेलाडी पूर्ण रूपमा फिट देखिएका छन्। झन्डै साढे २ वर्ष पछि लिभरपुलका सबै खेलाडी चोटमुक्त भएका हुन्। लिभरपुलको पूरा स्क्वाड अहिले फिट छन्।
गत सिजन लिभरपुललाई खेलाडी घाइते हुने समस्याले पर्न सम्म अफ्ठेरोमा पारेको थियो। तर अहिले आएर भने लिभरपुलसँग पूरा स्क्वाड फिट अवस्थामा उपलब्ध छ। अहिले कुनै पनि खेलाडी चोटिल अवस्थामा छैनन्।
साढे दुई वर्षमा पहिलो पटक लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपसँग पूर्ण स्क्वाड छ र अब उनले प्रतियोगिता अनुसार फरक-फरक खेलाडी प्रयोग गर्न पाउने भएका छन्। लिभरपुल अझै पनि चार प्रमुख उपाधिहरुका लागि प्रतिष्पर्धा गरिरहेको छ। यस्तोमा पूरा स्क्वाड उपलब्ध हुनु लिभरपुलका लागि पक्कै पनि फाइदाको कुरा हो।
यो कुरालाई क्लोप आफैं पनि स्वीकार गर्छन्। हालसालै एक पत्रकार सम्मेलनका क्रममा क्लोपले आफूसँग अहिले सम्मकै सबैभन्दा बलियो टोली रहेको बताएका थिए।
अन्योलता पनि बढ्दै
सबै खेलाडी उपलब्ध हुँदा क्लोपको समस्या पनि बढेको छ। पहिलो रोजाईमा पर्नको लागि खेलाडी बीच प्रतिष्पर्धा बढेको छ। कुन खेलाडीलाई कति बेला मौका दिने र विश्राम दिने भन्ने कुरामा निर्णय गर्न अब क्लोपलाई धेरै नै अफ्ठेरो पर्नेछ।
सबै भन्दा बढी प्रतिष्पर्धा लिभरपुलको आक्रमणपङ्तीमा देखिएको छ। लिभरपुलको आक्रमणपङ्तीमा मोहम्मद सलाह, साडियो माने, बबी फर्मिनो, डिएगो जोटा, लुइस डियाज, ताकुमी मिनामिनो, डिभोग ओरिगी जस्ता खेलाडी छन्। यी सबै खेलाडी मध्ये केहिले मात्र निरन्तर मौका पाइरहेका छन्। तर अन्यले भने खासै मौका पाउन सकिरहेका छैनन्।

