एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको खेलमा पूरा उर्जाका साथ मैदानमा उत्रिने बताएका छन्। च्याम्पियन्स लिगमा रियलको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा पोचेटिनोले रियल म्याड्रिड विरुद्ध सबै शक्ति सहित उत्रिने बताएका हुन्।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा पोचेटिनोले रियल म्याड्रिड विश्वकै उत्कृष्ट क्लब रहेको र आफूहरु समान गर्ने बताए। विश्वकै उत्कृष्ट क्लब नभई १३ युरोपियन कप जित्न नसकिने पोचेटिनोको भनाई छ।
“रियल म्याड्रिडलाई विश्वको उत्कृष्ट टोलीको रूपमा धेरै सम्मान गर्छौं। त्यतिकै १३ युरोपियन कप त जित्न सकिँदैन। यसले क्लबको समग्र शक्ति देखाउँछ।”,पत्रकारहरु सामू पोचेटिनोले भने।
त्यस्तै पोचेटिनोले आफूहरु च्याम्पियन्स लिगको च्यालेन्जर मात्र भएको पनि बताए। पोचेटिनोका अनुसार पिएसजी च्यालेन्जर हो भने रियल म्याड्रिड च्याम्पियन्स लिग जितिरहने बानि भएको क्लब हो।
उनले भने,”हामी च्यालेन्जर मात्रै हौँ। हाम्रो सपना पूरा गर्नको लागि हामीले राम्रो टोली निर्माण गर्ने प्रयास गरिरहेका छौँ र त्यसको लागि हाम्रो धेरै मिहिनेत लागेको छ। तर रियलको भने च्याम्पियन्स लिग जित्ने बानि नै छ।”
त्यस्तै पोचेटिनोले पिएसजी कम्जोर नरहेको पनि बताए। रियल विरुद्धको खेलमा पूरा उर्जाका साथ खेल्ने पोचेटिनोको भनाई छ। उनले भने,”हामी कम्जोर छैनौँ र रियल सामू पनि कम्जोर प्रदर्शन गर्ने छैनौं। पूरा उर्जाका साथ हामी मैदानमा उत्रने छौँ।”

