के रोनाल्डोकै कारण युनाइटेडको यो हालत भइरहेको छ ? पूर्व खेलाडीले यसो भने !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको कम्जोर अवस्थाको दोष क्रिस्टियानो रोनाल्डो माथि लगाइएको छ। म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी पल इन्सेले युनाइटेडको कम्जोर अवस्थाको दोष रोनाल्डो माथि थोपरेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा इन्सेले रोनाल्डोको स्वार्थीपनाका कारण युनाइटेडलाई समस्या परिरहेको बताए। रोनाल्डोको घमण्डले उनलाई मात्र नभई क्लबलाई पनि असर गरिरहेको इन्सेको भनाई छ। बेलायती पत्रिका ‘द सन’सँग कुराकानी गर्दै इन्सेले रोनाल्डो युनाइटेडमा खराब उदाहरण बनिरहेको बताए।

धेरैले रोनाल्डो क्लब र युवा खेलाडीहरुका लागि उदाहरण र प्रेरणा हुने अपेक्षा गरेको भएपनि रोनाल्डोबाट त्यस्तो केहि हुन नसकेको इन्सेको भनाई छ। इन्सेका अनुसार गोल गर्न छाडेपछि रोनाल्डो झनै रिसाहा बनिरहेका छन्।

“उनी स्वार्थी खेलाडी हुन्। रोनाल्डो मात्रै रोनाल्डो बारे चिन्तित हुन्छन्। गोल गर्न नसकेका कारण उनको क्रोध बढ्दै गइरहेको छ। शुरुवाती समयमा उनी उडिरहेका थिए। तर अहिले उनी कसैको लागि पनि खतरा छैनन्। त्यसैले उनी निराश भइरहेका छन्।”,इन्सेले भने।

इन्सेले रोनाल्डोका कारण युनाइटेड एक टीमको रुपमा खेल्न नसकिरहेको संकेत पनि गरे। त्यसक्रममा युभेन्टसका खेलाडीले रोनाल्डो गएपनि पुनः क्लब एक परिवार जस्तै हुने बताएको कुरालाई पनि उल्लेख गरे।

उनले भने,”यो म्यानचेस्टर युनाइटेड र टोलीको बारेमा हुनुपर्थ्यो। तर त्यहाँ त्यस्तो भइरहेको छैन। त्यसैले रोनाल्डो निराश भइरहेका छन्। युभेन्टसमा पनि यस्तै भएको थियो। रोनाल्डोले छाडेपछि जर्जियो चिलिनीले युभेन्टस फेरि परिवारको रुपमा अगाडी बढ्ने बताएका थिए।”

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१६:२७

सिटीलाई स्पोर्टिङले हराउने छ त चान्स ?