एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज (मंगलबार) राति प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र पोर्चुगिज क्लब स्पोर्टिङ सिपी प्रतिस्पर्धा गर्दैछ ।
खेल स्पोर्टिङको मैदानमा लिस्वोआमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा स्पोर्टिङ उपाधिको बलियो दावेदार सिटीलाई स्तब्ध पार्दै दोस्रो लेगको लागि आफुलाई सहज स्थितिमा उभ्याउन चहान्छ ।
पछिल्लो पाँच खेलमा अपराजित रहेको स्पोर्टिङ सिपी आफ्नो अपराजित यात्रा सिटीविरुद्धको खेलमा पनि राख्ने लक्ष्यमा हुनेछ । टोलीसँग पेड्रो गोन्काभेस, पौलिन्हो, पाब्लो साराविया, म्याथिअस, म्याथिअस लुइज, जोओ पालिन्हा, पेड्रो पोरो, सेवास्टिन कोएटेस, गोन्कालो इनासियो र गोलरक्षक एन्टोनियो एडान रहेका छन् ।
यता, म्यानचेस्टर सिटी पनि अवे खेलमा जित निकाल्दै क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो पार्ने योजनाका साथ मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेको सिटी स्पोर्टिङविरुद्ध पनि अपराजित यात्रा कायम राख्ने योजनामा छ।
यस सिजनको प्रिमियर लिग जित्ने संघारमा रहेको सिटीसँग अघिल्लो खेलमा ह्याट्रिक गरेका रहिम स्टर्लिङ, फिल फोडेन, रियाद महारेज, बर्नाडो सिल्भा, रोड्री, केभिन डि ब्रुएन, जोओ क्यान्सेलो, एमेरिक लापोर्टा, रुवेन डियास, जोन स्टोन्स र इडर्सन मोराएस रहेका छन् । जोओ क्यान्सेलो, रुबेन डियास र बर्नार्डो सिल्भाले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ ।
यि दुई टोली २०१२ पछि पहिलोपटक खेल्न लागेको हो । त्यतिबेला यि दुई टोलीले युरोपा लिगको समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । जसमा दुवै टोलीले समान एक खेल जितेका छन् । यि दुई टोली हालसम्म तीनपटक भिडेका छन् । २०१२ मा भएको मैत्रीपूर्ण खेलमा स्पोर्टिङले २–० को जित निकालेको थियो ।
तर, यो अवधिमा सिटीले धेरै फड्को मारिसकेको छ । तर, करोडौं डलर लगानी गरे पनि सिटीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्न सकेको छैन । गत सिजन सिटी चेल्सीको हातबाट पराजित भयो ।

