एजेन्सी – इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ ।
पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले पराजित गरेको हो । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको खेलमा पिएसजीले पाहुना टोली रियललाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको पाँचौ मिनेटमा नै केलियन एमबाप्पेको पासमा एन्जल डि मारियाको प्रहार पोस्टबाट थोरै आकासिएको थियो । १८औ मिनेटमा नुनो मेन्डेसको लामो पासलाई एमबाप्पेले नियन्त्रणमा लिदै गरेको प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारे । त्यसमै डानिलो पेरेइराको कर्नरमा डेभिड अलाबाको हेडर डिफ्लेक्ट हँदा गोलरक्षक कोर्टुवाले बचाए ।
५०औं मिनेटमा एमबाप्पेको प्रहारमा कोर्टुवा नै बाधक बने । रिवाउन्डमा लियोनेल मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन । ५४औं मिनेटमा भिनियस जुनियरको पासमा टोनी क्रुसको २५ यार्ड टाढाको प्रहार पोस्टबाट थोरै आकासिदा रियल अग्रता लिनबाट चुक्यो ।
६२औं मिनेटमा मेस्सी पेनाल्टीमा चुक्दा पिएसजीले अग्रता लिन सकेन । ड्यानी कार्भाजलले पेनाल्टी बक्समा एमबाप्पेलाई फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थिो । तर, मेस्सीको पेनाल्टीलाई कोर्टुवाले बचाउँदै रियलको खतरा टारे ।
७५औं मिनेटमा पेनाल्टी बक्सबाहिरको मेस्सीको फ्रिकिक सदुपयोग हुन सकेन । ७७औं मिनेटमा एमबाप्पेकै कर्लिङ प्रहार पोस्टनजिकैबाट थोरै बाहिरियो । ८६औं मिनेटमा नेयमारले दोस्रो दोस्रो बार च्याप्दै गरेको प्रहार पनि सदुपयोग हुन सकेन ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इड्रिसा गाना गुआईको प्रहारलाई कोर्टुवाले सहजै नियन्त्रणमा लिए । पिएसजीको एकपछि अर्काे प्रहार बचाएका कोर्टुवाले अन्तिम समयमा एमबाप्पेको प्रहार बचाउन नसक्दा रियलले हार बेहोर्न पुग्यो ।
एमबाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल पासलाई नियन्त्रणमा लिदै एमबाप्पेले दुई खेलाडी लुकास भास्क्वेज र इडर मिलिसाओलाई बिट गर्दै गरेको प्रहारले पोस्टको दिशा लिएको थियो ।
चोटका कारण नोभेम्वर यता पहिलोपटक मैदान छिरेका नेयमारले पूनरागमन खेलमै असिस्ट दिन सफल भए । नेयमार ७२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान छिरेका थिए । खेलभर नै दवाव झेलेको रियलले कुनै पनि रियलको पोस्टमा गतिलो आक्रमण बुन्न सकेन ।
पहिलो लेगमा पाएको जितसँगै पिएसजीलाई क्वाटरफाइनल पुग्न केही सहज भएको छ । अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके पिएसजीले अन्तिम आठको यात्रा तय गर्नेछ । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुनेछ ।

