काठमाडौँ – सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा सर्वसाधारणलाई दुख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा, प्राङ्कका नाममा भिडियो खिच्ने र सर्वसाधारणलाई दुख दिने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पाको बिर्तामोड नगरपालिका–४ घर भई भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाई रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका सेडाई नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक रहेका छन्।
पक्राउ परेका सेढाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको छ।
ख्यालठट्टाका नाममा अब अनुमतिबिना फोटो/भिडियो पोस्ट गर्न नपाइने
गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। केहि साता अगाडी गृहले सूचना नै निकालेर यस्तो चेतवानी दिएको हो।
मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ ।
सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।
सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न मन्त्रालयले सचेत गराएको हो ।