एमसीसी अगाडी बढे सरकारबाट माओवादी बाहिरिने !

काठमाडौँ – अमेरिकी सहयोग परियोजना(एमसीसी)को विषयमा सहमति कायम नभई अगाडी बढाउन खोजिए सत्ता गठबन्धन घटक नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।

बुधबार बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले एमसीसीलाई जबरजस्ती अगाडी बढाउन खोजिए र पारित गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेको हो। बुधबारको बैठकमा आवश्यक परे सरकारबाट बाहिरिने विषयमा छलफल भएको माओवादी नेताहरुले बताए।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको निर्णयहरु बारे जानकारी गराउँदै प्रमुख सचेतक देव गुरुङले पाँच दलको निर्णय बिना सरकारले निर्णय गर्न नसक्ने बताए। सरकारले जबर्जस्ती अगाडि बढ्यो भने आफूहरुले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको गुरुङको भनाई छ।

“गठबन्धन प्रणाली अनुसार गठबन्धनको निर्णय नै सरकारको निर्णय हुन्छ। गठबन्धनको निर्णय बिना सरकारको निर्णय हुनसक्दैन। त्यसकारणले गठबन्धनको निर्णय बिना सरकारले वा कुनै घटकले आफ्नो ढंगले चल्न खोज्यो भने गठबन्धन तोडियो भन्ने कुरा हुन्छ। गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिने कुरा आउँछ।”,गुरुङले भने।

दलहरुको बीचमा सहमति नभएसम्म एमसीसी अगाडी बढ्ने नसक्ने माओवादीको निष्कर्ष रहेको उनले सुनाए। एमसीसीको विषयमा सत्ता गठबन्धनमा रहेका पार्टीहरु बीच एक प्रकारको सहमति कायम हुनुपर्ने उनको भनाई छ।

उनले भने,”एमसीसी अगाडि बढाउने हो भने राष्ट्रिय सहमति जुट्नुपर्छ, दलहरुको बीचमा सहमति हुनुपर्छ। कमसेकम सरकारमा रहेका दलहरुको बीचमा सहमति हुनुपर्छ। दलहरुको बीचमा सहमति नभइकन यो अगाडि बढ्न सक्दैन।”

प्रकाशित : बुधबार, फागुन ०४, २०७८११:५६

हायात रिजेन्सी होटेलमा हुँदै थियो युरेनियमको ‘डिल’, सूचना लिक भएपछि सबै प्लान चौपट !