च्याम्पियन्स लिगको नकआउट चरणहरू मंगलबारबाट सुरु भइसकेका छन्। पीएसजी सुपरस्टार लियोनल मेस्सीको टोली यस प्रतियोगिता जित्ने प्रमुख दाबेदार टोलीमा गनिएको छ। अन्तिम १६ को पहिलो लेगमा रियल म्याड्रिड विरुद्ध पीएसजीले १-० जीत निकालेपछि मेस्सीको अन्ततः फ्रान्सेली टोलीलाई युरोपेली च्याम्पियन बनाउने सपनामा केही राहत मिलेको छ।

रियल म्याड्रिड विरुद्ध मेस्सीको प्रदर्शन खास नरहेपनि एम्बाप्पेको गोलमा पीएसजीले जीत निकाल्न सफल भएको थियो। जुन नतिजाले स्पेनिस राजधानीमा हुने दोस्रो लेग खेल्नु अघि फ्रेन्च क्लब फाइदामा रहेको छ। तर बार्सिलोनाका पूर्व खेलाडीलाई संसारको सबैभन्दा आकर्षक क्लब प्रतियोगिता जित्न कत्तिको कठिन हुन्छ भन्ने राम्रो अनुभव रहेको छ।

यस्तोमा, गत वर्षको नोभेम्बरमा मेस्सीले आफ्नो नयाँ क्लब च्याम्पियन्स लिग उपाधि जित्न दाबेदार रहेको स्वीकार गर्दै अन्य पाँच क्लब पीएसजीको बाटोमा तगारो बन्न सक्ने बताएका थिए। उनले पीएसजी बाहेक अन्य पाँच दाबेदार टोलीमा म्यानचेस्टर सिटी, लिभरपुल, बार्यन म्युनिख, रियल म्याड्रिड र एथलेटिको म्याड्रिडको नाम लिएका थिए।

मार्कासँग कुरा गर्दै, मेस्सीले भने: “सबैले हामी प्रमुख दाबेदार रहेको भन्छन् र म यो कुरालाई इन्कार गर्दिन, तर हामीलाई वास्तवमै बलियो टोली हुनका लागि अझै केही चीजहरू चाहिन्छ। हामीले एक टोलीको रूपमा आफूलाई सुदृढ पार्ने काम पूरा गर्नुपर्छ र यो हासिल गर्न हामीसँग उत्कृष्ट खेलाडीहरू हुनुको फाइदा छ।”

“तर हामी मात्र होइनौं, त्यहाँ अन्य उत्कृष्ट टोलीहरू छन् जो प्रतियोगिता जित्न दाबेदार छन्। च्याम्पियन्स लिग एक धेरै गाह्रो प्रतिस्पर्धा हो, जसले यसलाई धेरै सुन्दर र विशेष बनाउँछ। अन्य थुप्रै उत्कृष्ट टोलीहरू छन् र यो थप र अधिक जटिल हुँदै गइरहेको छ। हो हामी दाबेदार मध्ये एक हौँ, तर हामी मात्र हैनौं,” मेस्सीले भने, “लिभरपुलले धेरै राम्रो गरिरहेको छ। त्यसपछि सिटी, बायर्न, म्याड्रिड, एथलेटिको छन्।”

