एजेन्सी – धेरै लामो समय पछि प्रिमियर लिग क्लब लिभरपुलका सबै खेलाडी पूर्ण रूपमा फिट देखिएका छन्। झन्डै साढे २ वर्ष पछि लिभरपुलका सबै खेलाडी चोटमुक्त भएका हुन्। लिभरपुलको पूरा स्क्वाड अहिले फिट छ।
गत सिजन लिभरपुललाई खेलाडी घाइते हुने समस्याले पर्न सम्म अफ्ठेरोमा पारेको थियो। तर अहिले आएर भने लिभरपुलसँग पूरा स्क्वाड फिट अवस्थामा उपलब्ध छ। अहिले कुनै पनि खेलाडी चोटिल अवस्थामा छैनन्।
साढे दुई वर्षमा पहिलो पटक लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपसँग पूर्ण स्क्वाड छ र अब उनले प्रतियोगिता अनुसार फरक-फरक खेलाडी प्रयोग गर्न पाउने भएका छन्। लिभरपुल अझै पनि चार प्रमुख उपाधिहरुका लागि प्रतिष्पर्धा गरिरहेको छ। यस्तोमा पूरा स्क्वाड उपलब्ध हुनु लिभरपुलका लागि पक्कै पनि फाइदाको कुरा हो।
इन्टरले रोक्न सक्ला ?
च्याम्पियन्स लिगमा आज लिभरपुलले इन्टर मिलानसँग खेल्दैछ। इन्टरको घरेलु मैदानमा हुने खेलमा लिभरपुल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। च्याम्पियन्स लिगको समूहचरणमा लिभरपुलले शतप्रतिशत जित निकालेको थियो। त्यस्तै प्रिमियर लुगमा पनि लिभरपुलको बलियो उपस्थिति छ। लिभरपुल अहिले लिगको दोस्रो स्थानमा रहेको छ।
सिजनका २४ खेल खेल्दा लिभरपुलले १६ जित निकाल्दा मात्रै दुई खेलमा हार बेहोरेको छ। लिभरपुल सन् २०२२ लागेपछि कुनै पनि खेलमा अपराजित भएको छैन। लिभरपुल पछिल्लो पटक डिसेम्बर अन्तिममा लेस्टर सिटी विरुद्धको खेलमा पराजित भएको थियो।
लिभरपुलको तुलनामा केहि कम्जोर देखिएपनि इन्टर सिरी ‘ए’ च्याम्पियन हो। यस हिसाबले इन्टरलाई कम्जोर आँक्न मिल्दैन। इन्टर अहिले सिरी ‘ए’को उपाधि दौडमै रहेको छ। हालको अवस्थामा इन्टर एक खेल बढी खेलेको एसी मिलान भन्दा मात्रै १ अंकले पछाडी छ। आज हुने खेलमा इन्टर घरेलु मैदानको भरपुर फाइदा उठाउँदै जित निकाल्ने दाउमा हुनेछ।

