विदेशमा सिकेको सीप गाउँमा प्रयोग गरे, १० रोपनी बारी तरकारी-फलफूलले हराभरा !

बागलुङ – बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका चूडामणि छन्त्याल विदेशमा सिकेको सीपलाई गाउँमा प्रयोग गरेर माटो सिञ्चिएको छ । मेलेसियामा दुई वर्ष तरकारी बारीमा काम गरेका उनले कोरियामा दुई वर्ष तरकारी फार्म र बाँकी आठ वर्ष उद्योगमा काम गरेको थियो ।

अहिले कटेरी गाउँमा झण्डै १० रोपनी बारी तरकारी र फलफूलले हराभरा बनाएको छ । खर्च अभावले विदेशीएका उनले अहिले आफ्नो माटोमा गरेको दुःखले आर्जेको कमाई बचत गर्छन । चार वर्षअघि कोरियाबाट गाउँ फर्केर प्लाष्टिक घरमा तरकारीखेती गरेका ४८ वर्षीय उनका बारीमा पाँच प्लाष्टिक घर छन् ।

खुला आकाशमुनि, साग, बन्दा, काउली र खुर्सानी फलेका छन् । “पोहोरसम्म गोलभेँडाको खेती गरेँ, निकै राम्रो आम्दानी भयो”, उनले भने, “अहिले गाउँका अरु दाजुभाईले पनि प्लाष्टिक घर निर्माण गरेपछि मैले गोलभेँडा उनीहरुलाई छोडेर अरु विकल्प खोजिरहेको छु ।”

उनका दुई प्लाष्टिक घरमा अहिले ‘स्टोभेरी’ फलेको छ । मलेसियामै रहँदा स्ट्रबेरीका विषयमा जानकारी पाएका उनले ककनीबाट बिरुवा ल्याएर खेती सुरु गरेका हुन् । ‘स्ट्रबेरी गाउँका लागि नयाँ खेती हो । पहिले दुई बिरुवा लगाएँ राम्रो फलेपछि व्यावसायिक खेती गरेको छु”, उनले भने, “नयाँ खेतीले बजार पाउन सहज हुने र मूल्य प्रतिकिलो ७०० रुपैयाँ पर्दछ, पोखरा लेकसाइडको एक होटलसँग सोही मूल्यमा सम्झौता भएको छ, बिक्रीका लागि कुनै पनि समस्या छैन ।”

छन्त्यालको मेहनतको सिको गरेका कटेरी गाउँका स्थानीयले अहिले गाउँ हराभरा बनाएका छन् । विदेशको कमाईले उनको काठमाडौँमा घर छ । दुईभाई छोरा युरोप र अष्ट्रेलियाका नाम चलेका कलेजमा पढ्छन् ।

तर सहरको सुख छोडेर उनी मात्रै होइन उनको परिवार पनि कृषिमा लागेको छ । छोराको पढाइका लागि २२ वर्ष काठमाडौँमा बसेकी उनकी श्रीमती इन्द्रकुमारी अहिले गाउँमै छन् ।

“चार वर्षअघि आउनुभयो, म एक वर्षदेखि यतै छु, काममा सघाउँछु, गाउँको हावापानी भुल्न नसकेर फर्किएँ”, इन्द्रकुमारीले भने, “हामी सुख होइन सन्तुष्टि खोज्न गाउँ फर्किएका हौँ ।” अघिल्लो वर्षसम्म बर्खाका समयमा तमानखोला पुग्ने सडक अवरुद्ध हुँदा कटेरी गाउँको कृषिउपज बर्खामा खेर जान्थ्यो । अहिले भने किसानको बारीसम्मै बाह्रै महिना चल्ने सडक पुगेको छ । पाँच वटा टनेलमा चार वर्षदेखि खेती गरेका छन्त्यालको गाउँमा अहिले ५० टनेल छन् । कटेरी/भयरबोंगा गाउँलाई समेटेर गण्डकी प्रदेश सरकारले नमूना कृषि गाउँ घोषणा गरेको छ ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१५:३९

करिश्मा श्रेष्ठपछि फेरि अर्की करिश्माको प्रेममा चुर्लुम्मै छन् सलोन बस्नेत