काठमाडौं (हाम्रो खेलकुद) – नव प्रवेशी सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ ।

मछिन्द्रले सातदोबाटोलाई १–० ले हराउँदै लगातार दोस्रो वर्ष लिग च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रलाई जित दिलाउन नुर्लान नोभ्रुजोभले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा गोल गरेका थिए ।
खेलको नवौ मिनेटमा कप्तान मान बहादुर तामाङको फ्रिकिकलाई गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १८औं मिनेटमा कप्तान मानबहादुरको कर्नरमा सुदिप गुरुङको प्रहार फितलो बन्दा गोलरक्षक विशाललाई कुनै गाह्रो भएन । लगत्तै काउन्टरमा विमल घर्तीमगरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा रेजिन धिमालको कर्नरमा सुनिल बलको हेडरलाई गोलरक्षक अभिषेकले बचाउँदा रिवाउन्डको नुर्लान नोभ्रुजोभको हेडरलाई निरज चौधरीले गोललाईनबाट क्लियर गर्दै सातदोबाटोको संकट टारे । लगत्तै २४औं मिनेटमा नुर्लानको क्रसमा विमल घर्तीमगरको हेडरलाई गोलरक्षक अभिषेकले विफल पारे ।
२९औं मिनेटमा आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार गोलरक्षक विशालले हुलमुलका बीच नियन्त्रणमा लिए । ३२औं मिनेटमा मानबहादुरको फ्रिकिकमा मार्टिन एडेल्फे सिलो नंगाको हेडरलाई गोलरक्षक विशालले पञ्च गर्दै बचाए ।
५३औं मिनेटमा सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरलाई गोलरक्षक अभिषेकले बचाएपनि क्रसबारमा लाग्दै फर्कदा अनमार्क रहेका नुर्लानले सहजै फिनिस गरे । ५५औं मिनेटमा नुर्लानले पास दिनुपर्ने बलमा आफैले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल मछिन्द्रले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो । मछिन्द्रसँगको हारसँगै सातदोबाटो ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा यथावत रहेको छ ।
जितसँगै अपराजित रहेको मछिन्द्रको ११ खेलबाट २९ अंक पुगेको छ । मछिन्द्रले ११ खेलमा ९ जित र २ बराबरीको नतिजा निकालेको छ । अब मछिन्द्रले १२औं चरणमा थ्री स्टार र अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबसँग हार बेहोरेपनि दोस्रो स्थानको टोलीले भेट्नेछैन ।

छैटौ चरणमा उपाधि दावेदार मनाङलाई हराएपछि मछिन्द्रको उपाधि यात्रा थप सहज बनेको थियो । त्यसपछि मछिन्द्रले सातदोबाटोसहित लगातार छैटौ जित दर्ता गरेको छ ।
मछिन्द्रको च्याम्पियन यात्रा
मछिन्द्रविरुद्ध एनआरटी (२–१)
आर्मीविरुद्ध मछिन्द्र (०–०)
जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
शेर्पाविरुद्ध मछिन्द्र (०–३)
संकटाविरुद्ध मछिन्द्र (०–०)
मनाङविरुद्ध मछिन्द्र (०–१)
पुलिसविरुद्ध मछिन्द्र (०–१)
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
बिबिसीविरुद्ध मछिन्द्र (०–४)
मछिन्द्रविरुद्ध च्यासल (२–०)
